वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ दलहरु सहमत

वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ दलहरु सहमत

काठमाडौं । स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सत्तारुढ पाँच दलीय गठबन्धनसहमत भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।

बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले समयमै स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल भएको जनकारी दिए । उनले स्थानीय तहको चुनावलाई समयमै सम्पन्न गर्ने विषयमा छलफल केन्द्रीत भएको बताउदै मिति घोषणा गर्नेबारे भने निर्वाचन आयोगसँग फेरि परामर्श गरिने बताए । निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ ।

निर्वाचन आयोगका पदाधिकारीहरुले गत पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचनको तयारी थाल्न ध्यानाकर्षण गराएका थिए । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेताहरू उपस्थित थिए । समितिको अर्को बैठकबाट स्थानीय तहको चुनावको मिति तय गर्ने तयारी छ ।

 


Thali Mobile Pvt.Ltd.