भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सङ्क्रमणरहित उडानको तयारीमा एयरलाइन्स

सङ्क्रमणरहित उडानको तयारीमा एयरलाइन्स

काठमाडौँ । मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् । आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले सङ्क्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् । उपर्युक्त एयरलाइन्सले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने जनाएका छन् ।

एयरलाइन्सले यात्रुको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी रुपमा पालना गरी उडान सञ्चालन गर्नेगरी टिकट बुकिङ पनि शुरु गरिसकेका छन् । बुद्ध एयरले आइतबारदेखि औपचारिक रुपमा कार्यालय सञ्चालन गर्ने जनाएको छ । निषेधाज्ञाका कारण अनौपचारिक रुपमा सीमित सङ्ख्याका कर्मचारीमार्फत सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान खुल्ने भएपछि कार्यालय सञ्चालन तथा यात्रुको सहजताका लागि बुकिङ पनि शुरु गरिएको जनाएका छन् । अघिल्लो महामारीपछिको उडानमा हवाई भाडामा भारी छुटका साथ उडान गरेका एयरलाइन्सले पछिल्लो उडानमा हवाई भाडा केही मात्रामा बढ्नसक्ने जनाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेकाले साबिकको हवाई भाडादर केही वृद्धि हुने बुद्ध एयरले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान लाई निर्देशन दिएको थियो । उक्त निर्णयबमोजिम क्यानले एयरलाइन्सलाई उडान कोटा निर्धारण गरेको छ । अहिलेको अवस्थामा बुद्ध एयरले जम्मा ३१ उडान गर्नेछ । कम्पनीले काठमाडौँदेखि विराटनगर गन्तव्यमा दैनिक चार, भद्रपुर तीन, तुम्लिङटार एक, जनकपुर तीन, पोखरा तीन, भैरहवा पाँच, धनगढी दुई र सुर्खेत एक उडान गर्ने तालिका बनाएको छ ।

यस्तै यती एयरलाइन्सले कूल १५ उडान गर्नेछ । यतीले विराटनगर तीन, भद्रपुर दुई, जनकपुर दुई, सिमरा दुई र पोखरा दुई उडान तालिका बनाएको छ । श्री एयरलाइन्सले सात, सौर्य एयरलाइन्सका तीन उडान तालिका छन् । कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.