एजेन्सी । अफ्रिकी देश केन्यामा लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै घाइते भएका छन् । व्यस्त जक्सनमा एउटा लरीले नियन्त्रण गुमाएर अन्य सवारी साधन र पैदल यात्रुलाई ठक्कर दिदा दुर्घटना भएको हो । हिजो बेलुका सिपिङ कन्टेनर बोकेर आएको लरी केन्याको पश्चिमी क्षेत्र लोन्डिआनीको रिफ्ट उपत्यका नजिकै अनियन्त्रित हुँदा सडक छेउछाउमा पार्किङ्ग गरिएका अरु धेरै गाडीसँग ठोक्किएर दुर्घटना भएको स्थानीय प्रहरीको भनाइ छ ।
लरीले पैदल यात्रु तथा ६ वटा भन्दा धेरै गाडीलाई कुल्चेको अलजजिराले जनाएको छ । ज्यान गुमाउनेमा पैदल यात्रुसहित युवा तथा व्यवसायी रहेका छन् । दुर्धटनामा परी घाइते भएकालाई अस्पताल भर्ना गरिएको छ । स्थानीय प्रहरीले दिएको जानकारी अनुसार केरिचो र नाकुरु शहरबीचको राजमार्गमा भएको दुर्घटनामा अझै केहि व्यक्ति लरीमुनि फसेको आशंका छ ।
मृत्यु हुनेमा धेरै युवा तथा व्यवसायी रहेको जनाइएको छ । भारी वर्षाका कारण उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ठक्कर दिएका बस, ट्रक, कार र मोटरसाइकलका टुक्राहरु छरीएका छन् । केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्तर्दै यो दुर्घटना केन्याको इतिहासमा सबैभन्दा खराब सडक दुर्घटना मध्ये एक रहेको बताउनुभएको छ । गत वर्षको सुरुमा मध्य केन्यामा एउटा बस पुलबाट नदीमा खस्दा ३४ जनाको मृत्यु भएको थियो । केन्यामा ठूला सडक दुर्घटनाको दर बर्सेनि बढीरहेको छ ।
