काठमाडौं । नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । आईसल्याण्डमा आयोजित विश्वका महिला राजनीतिज्ञहरुको सञ्जाल वुमन पोलिटिकल लिडर्स्’को कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन । राष्ट्रपति भण्डारीले मानव अधिकार, समानता र भेदभावरहित सिद्धान्तहरुलाई अंगीकार गर्दै नेपालले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक प्रबन्धहरुमा लगानी गरिरहेको बताइन ।
राष्ट्रपति भण्डारीले नेपालमा निजामती सेवा, सुरक्षा निकाय, सरकारी तथा निजी संस्थानहरुजस्ता क्षेत्रमा महिलाहरुको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भईरहेको बताउँदै सबै प्रकारका लैंगिक हिंसा, पूर्वाग्रह, तथा कूरीतिहरु विरुद्धको लडाई जित्न बाँकिनै रहेको बताइन । उनले नेपालले संघीय र प्रादेशिक विधायिकाहरुमा एक तिहाई महिलाहरुको प्रतिनिधिको सुनिश्चित गरेको तथा त्यसका लागि आवश्यक सुदृढ संवैधानिक व्यवस्था समेत गरेको बताइन ।
