भर्खरै : Sorry, your browser does not support inline SVG.

सर्पले डसेका बिरामीको सङ्ख्या बढ्दै

सर्पले डसेका बिरामीको सङ्ख्या बढ्दै

जलेश्वर । प्रचण्ड घाम र गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको सङ्ख्या बढ्दै गएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार एक–दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन् ।

केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाइ उद्धृत गर्दै डा साहले बताए । पछिल्लो समय जिल्लामा भएको भारी वर्षापश्चात् सर्प बस्ने ठाउँमा पानी भरेको र सर्प लुक्ने झारीसमेत ओसिलो भएको कारण सर्प गाउँ बस्तीमा पस्ने गरेको पाइएको छ ।

त्यही क्रममा कुनै प्रकारले सर्पलाई मानिसबाट नोक्सानी भएको पाइएमा वा नजानेर पनि सर्पलाई छुन गएको खण्डमा सर्पले टोक्ने गरेको डा साहले बताए। डा. साहले अस्पताल आउनेमध्ये बढीलाई विषरहित सर्पले डसेकोे तथा केही मात्रै विषालु सर्पले डसेकोे बिरामी आउने गरेको बताए । अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी देखिएको स्थानीयवासीले बताएका छन् ।

जिल्लाको विभिन्न गाउँठाउँबाट दर्जनौँ व्यक्ति उपचारका लागि आउने यस अस्पतालमा सीमापारि भारतको विभिन्न ठाउँठाउँबाट पनि सर्पले डसेको बिरामी उपचारार्थ आउँछन् । महोत्तरीमा देखापर्ने विषरहित सर्पमा ढोरिया, हरहरालगायतका छन् भने विषालुमा सबैभन्दा बढी व्यक्तिलाई टोक्ने र सबैतिर सजिलै भेटिने करेत र गोमन छन् । विगत दुई सातादेखि जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामी दैनिकरुपमा आउने गरेका छन् ।

यस वर्ष अहिलेसम्म सर्पले टोकेर जलेश्वर अस्पतालमा उपचारका लागि आइसकेका कुनै पनि व्यक्तिको मृत्यु नभएको डा. साहले बताए । उहाँले जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेकोे बिरामीलाई लगाइएने एन्टी स्नेक भेनम सुइँ पर्याप्त रहेको बताए । सर्पले डसेकोे बिरामीलाई विषको मात्रा हेरी एन्टी स्नेक भेनमको भाइल डोज लगाउने गरिन्छ ।

 


Thali Mobile Pvt.Ltd.