भक्तपुर । नगरपालिका र व्यापारीबीच भएको भेलामा नगरप्रमुख सुनिल प्रजापतिले व्यापार सेवाको व्यवसाय भएको बताउँदै सामान विक्री गर्दा विक्री मूल्य अनिवार्य उल्लेख गरी गुणस्तरीय सामान विक्री गर्नु पने बताए ।
उपभोक्तालाई मर्का नपारी उनीहरुको मन जित्ने ढंगले व्यवसाय सञ्चालन गर्नुपर्ने भन्दै व्यवसायीका कारण उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने र व्यवसाय नै खतरामा पर्ने सक्नेतर्फ सचेत गराए । नगरपालिकाको बजेट नगरबासीकै हितमा प्रयोग गर्ने उद्देश्यले उपभोक्ता समिति मार्फत निर्माण कार्यलाई तीब्रता दिइरहेको र नगरबासीहरुको उत्थानको लागि आवश्यक नीति निर्माण समेत गरिरहेको जानकारी दिए ।
सम्पदा बचाउने अभियानमा लागेको भन्दै भक्तपुरलाई सुन्दर नगरीको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको उनको धारणा छ । समयमै पसल दर्ता गर्नुपर्ने, समयमै कर तिर्नुपर्ने तथा सरसफाईमा ध्यान दिएर व्यवसाय सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिए । कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पसलमा विक्री गर्ने सामानहरुको म्याद राम्रोसँग हेर्नुपर्ने, गुणस्तर चिन्ह प्राप्त खाद्यान्न मात्र विक्री वितरण गर्नुपर्ने बताए ।
भनपा वडा नं. ३ का वडाध्यक्ष एवं बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराले साना व्यवसाय फस्टाओस भन्ने चाहना नगरपालिकाको भएकोले साना पसल व्यवसायी एक हुनुपर्ने बताए । अहिलेको सरकार पूँजिपति वर्गको पक्षमा काम गर्र्ने भएकोले सरकारको व्यापार नीति साना व्यापारीहरुको पक्षमा नभएको दावी गरे ।
भनपा वडा नं. ६ का वडाध्यक्ष एवं बजार अनुगमन समितिका सदस्य हरिराम सुवालले नपाले अनुगमन गरे पश्चात पसल–व्यवसायीहरुमा सुधार आएको तथा तिर्नुपर्ने कर सम्बन्धी व्यवसायीहरुमा सकारात्मकता आएको बताए । कार्यपालिका सदस्य रोशनमैंया सुवाल, वडा निरीक्षक रामककृष्ण प्रजापतिले पनि धारणा राखेका थिए । सहभागी पसल–व्यवसायीहरुसँग जोडदार रुपमा राय–सुझाव संकलन गरिएको थियो ।
