काठमाडौं। पेरुको तात्कालिन साम्राज्यवादी शासक फुजीमोरीले सन् १९९२ मा गिरफ्तार गरेर २९ वर्षसम्म बन्दी बनाइएका पेरूका क्रान्तिकारी नायक गोञ्जालोको जेलमै मृत्यु भएको छ। पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) का नेता गोञ्जालोको शनिबार साँझ पेरुको जेलमा ८६ वर्षको उमेरमा निधन भएको हो।
पेरुमा सन् १९८० बाट सुरु भएको जनयुद्ध केन्द्रीय सत्ता कब्जाको नजिकै पुग्दा गोञ्जालो गिरफ्तार परेका थिए । सन् १९९२ मा उनलाई लिमा शहरको एउटा घरबाट गिरफ्तार गरिएको थियो । त्यसपछि पेरुको अदालतले उनलाई आजीवन काराबासको सजाय सुनाएको थियो।
विश्वभरिका कम्युनिस्ट एवं क्रान्तिकारीहरूबिच निकै लोकप्रिय गोञ्जालो सन् १९७६ मा माओको निधनपछि मुर्झाएको माओवादी आन्दोलनलाई उठाउन निर्णायक भूमिका खेलेका थिए । चीनको हुनानमा भएको किसान विद्रोह, नयाँ जनवादी क्रान्ति, महान अग्रगामी छलाङ, सर्वहारा सांस्कृतिक क्रान्ति, अर्थसामन्ती र अर्धऔपनिवेशिक समाजको विश्लेषण, दीर्घकालीन जनयुद्धको कार्यदिशा लगायतका माओका योगदानलाई माओवादका रूपमा संश्लेषण गर्नुमा गोञ्जालोको निकै महत्वपूर्ण भूमिका रहेकाे थियो।
गोञ्जालोलाई सशस्त्र क्रान्तिका दौरानमा भएको भौतिक र मानवीय क्षतिमा दोषी करार गर्दै पेरु सरकारले गिरफ्तार गरेको थियो । छालाको क्यान्सरबाट पीडित गाेन्जालाे बरु जेलभित्रै मर्ने तर साम्राज्यवादीसंग कहिल्यै नझुक्ने प्रण गरेका थिए । गोञ्जालोको स्वास्थ्य कमजोर बन्दै गएपछि विश्वभरिका कम्युनिस्टहरूले उनको रिहाइको माग गर्दै साम्राज्यवादवाद मूर्दावाद भन्दै आएका थिए।
अन्ततः संसारभरीका कम्युनिस्टहरूका प्रेरणाका स्रोत गोञ्जालो शनिबार साँझ सरकारी जेलभित्रै अस्ताए । उनलाई उपचारका क्रममा पेरुको सैनिक अस्पतालमा राखिएको र त्यही निधन भएको सरकारी अधिकारीले बताए । सम्भवतः गोञ्जालो नेल्सन मण्डेलाभन्दा २ वर्ष बढी र राजनीतिक क्रान्तिको नेतृत्व गरेको अभियोगमा सबैभन्दा लामो जेलजीवन बिताउने नेता हुन् । उनकाे मृत्यु नभइ हत्या हाे भन्दै संसारभरीका जनताले साम्राज्यवाद मूर्दावाद भनिरहेका छन् ।
डा. गोञ्जालो?
गोञ्जालोको जन्म सन् १९३४ डिसेम्बर ३ मा एरक्वेपा, एण्डिज श्रृंखला पेरुमा भएको हो । ८६ वर्षीय कमरेड गोन्जालोको वास्तविक नाम डा. अविमायल गुज्मन रेनोसो हो । एरक्वेपा विश्वविद्यालयबाट विद्यावारिधि गरेका गोञ्जालोले सन् १९६२ देखि १९७४ सम्म दर्शनशास्त्र विभाग हवामांगा विश्वविद्यालय, आयाकुचो पेरुमा प्राध्यापन गरेका थिए । सन् १९४५ मा दोस्रो विश्वयुद्धमा फाँसीवादको पराजयमा खुसी मनाउन पेरुका वामपन्थीहरुले निकालेको जुलुुसबाट गिरफ्तार भएपछि उनको राजनीतिक यात्रा सुरु भयो।
उनी सन् १९४६ मा कम्युनिस्ट योङ ब्रिगेटको सदस्य भएका थिए । उनी सन् १९५६ मा एरक्वेपा विश्वविद्यालयको विद्यार्थी संघको अध्यक्ष निर्वाचित भएका थिए । १९६५ मा चीनको भ्रमणपछि १९६६ मा पेरु कम्युनिष्ट पार्टीको सदस्य भएका उनलाई सन् १९६९ मा कम्युनिस्टको आरोपमा पक्राउ गरिएको थियो ।
सन् १९७५ मा पेरु कम्युनिस्ट पार्टीको अध्यक्ष भएका गोञ्जालोकै नेतृत्वमा सन् १९८१ मा पेरुमा सशस्त्र जनयुद्ध सुरु गरिएको थियो । यो जनयुद्धले अपार सफलता पाइरहेको अवस्थामा प्रतिक्रियावादी फुजीमोरी सरकारले सन् १९९२ को सप्टेम्बर १२ मा पक्राउ गरी सैनिक जेलमा राखेर आजीवन कारावासको सजाय सुनाएको थियो ।
सन् १९८० को दशकमा पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष गोञ्जालोको नेतृत्वमा सञ्चालित जनयुद्धले पेरुमा एकदम छिटो विकास गर्यो । गाउँदेखि शहर घेर्ने रणनीतिअन्तर्गत त्यस जनयुद्ध केन्द्रीय सत्ता कब्जाको नजिक पुगिसकेको थियो । यसै क्रममा सन् १९९२ सेप्टेम्बर १२ तारिखका दिन राजधानी लिमा शहरको एक घरबाट फुजीमोरी सरकारले गोञ्जालोलाई गिरफ्तार गरेर एक सैनिक जेलमा थुनेर आजीवन कारावासको सजाय सुनायो । क्रान्तिनायक ८६ वर्षीय गोञ्जालोको शनिबार बेलुका जेलभित्रै निधन भएको हाे ।

