काठमाडौं । नेपाल र चीनबीचका सबै नाकाहरु सोमबारदेखि पूर्ण रुपमा संचालनमा आएका छन् । तातोपानी नाका लगायतका नेपाल र चीनबीचका सबै नाकाहरु पूर्ण रुपमा सञ्चालनमा आएका हुन । २०७२ सालको भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी लगायतका नाकाहरु सोमबारदेखि पूर्ण रुपमा खुलेका हुन ।
मुस्ताङको कोरला, संखुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाका खुल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । २०७६ चैत ११ गते कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि रसुवागढी–केरुङ नाका बन्द भएको थियो ।
गत चैतमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच ल्हासामा भएको वार्तामा सोमबारदेखि तातोपानीसहिता सबै नाका खुला गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार नाकाहरु खोलिएको मन्त्रालयले जनाएको छ ।
