भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हुम्लाका ७० स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

हुम्लाका ७० स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

सिमकोट । हुम्ली सेवा समाज नेपालगञ्जले हुम्लाका ७० वटा स्वास्थ्य संस्थालाई कोभिड–१९ का सामग्री सहयोग गरेको छ । जिल्लाबाहिर नेपालगञ्जमा बस्दै आएका हुम्ली सेवा समाजमा आबद्ध १४ व्यक्तिको संयुक्त आर्थिक सहयोगमा जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरिएको सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दानबहादुर बोहराले जानकारी दिनुभयो ।

विश्वव्यापी महामारिका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दिनानुदिन तीव्रगतिमा फैलिरहेको अवस्थामा हिमाली जिल्ला हुम्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई ती सामग्री सहयोग गरिएको नेपालगञ्जमा बसोबास गर्दै आएका सिमकोट–५ का जीवन बोहराले बताउनुभयो ।

हुम्लामा भौतिक पूर्वाधार, स्रोत साधन र जनशक्तिको अभावलगायतका विभिन्न प्रतिकूल अवस्था र महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै थोरै भए पनि केही सहज होस् भन्ने उद्देश्यका साथ समाजले उक्त सामग्री सहयोग गरेको हो । जिल्लाका सिमकोट, नाम्खा, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि हवाईजहाजमार्फत ती सामग्री आपूर्ति भएको छ ।

ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका लागि पैदल मार्ग हुँदै जिल्लामा उपलब्ध हुने संयोजक बोहराको भनाइ छ । बुधबार हवाईजहाजमार्फत आपूर्ति भएको स्वास्थ्य सामग्री सिमकोट–६ को वडा कार्यालयबाटै गाउँपालिकाअन्तर्गतका ठेहे, बरगाउँ, स्याँडा, खोल्सीलगायतका स्वास्थ्य संस्थामा वितरण गरिएको थियो ।

त्यस्तै सर्केगाड गाउँपालिका र जिल्ला अस्पताललाई पनि सोही दिन सामग्री हस्तान्तरण गरिएको संयोजक बोहराले बताउनुभयो । प्रतिस्वास्थ्य संस्थालाई एक थान पल्स अक्सिमिटर, एक थान डिजिटल थर्मोमिटर र ५०० थान सर्जिकल मास्क उपलब्ध गराइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.