काठमाण्डौ । नेपालमा बर्सेनि गर्मी र वर्षाका बेला हैजाको बिरामी फेला पर्ने गरेका छन् । हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ। पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाका विरामीहरु भेटिएका छन् । काठमाण्डौ महानगरपालिकाले हैजा नियन्त्रणको प्रयासमा चौबिसै घण्टा हटलाइन टेलिफोन समेत सञ्चालनमा ल्याएको छ ।
हैजा दूषित पानी र खानेकुराबाट लाग्ने भएकाले महानगरले सडकमा खानेकुरा बेच्न रोक लगाउन नेपाल प्रहरीसँग सहकार्य गर्ने जनाएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सजिलो होस् भनेर महानगरपालिकाले २४ घण्टा हटलाइन टेलिफोन सेवा सञ्चालन गर्दै नागरिकलाई समस्या परे ११८० नम्बरमा फोन गरेर जानकारी लिन आग्रह समेत गरेको छ ।
विद्यार्थीलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयमा जानकारीमूलक कार्यक्रम गर्ने, बिरामीलाई अस्पताल लैजानु परे एम्बुलेन्स सेवाको सुविधा दिइएको, महानगरपालिकाले पानीको पाइपलाइन तथा ढल फुटेर पानीमा मिसिएको नमिसिएको हेर्न र मर्मत गर्न काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।
यस अघि लतिलपुर महानगरपालिकाले सडक छेउमा जथाभावी बेच्न राखिएका चट्पट्, पानीपुरी लगायतका खोनेकुरा हटाइ सकेको छ । काठमाण्डौ महानगरले होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई समेत अनुरोध गरेको छ ।
के हो हैजा ?
हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ। सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन् । सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्ने चिकित्सकको भनाइ छ।
हैजाका लक्षणहरु : – हैजा भएका मानिसहरूलाई निरन्तर दिसा लाग्छ। उनीहरूको दिसा अधिक पातलो हुने बताइन्छ। चामलको चौलानीजस्तो तरल पदार्थ मानिसको शरीरबाट निरन्तर बगिरहन्छ। त्यस्तै पटकपटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिनेजस्ता समस्याहरू अधिकांश बिरामीमा देखिने गर्छ । केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ। हैजामा पेट दुख्ने, वान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा आउने जस्ता लक्षणहरु देखिन्छन्।
कसरी उपचार गर्ने
१
झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक–पटक खुवाउने।
२
प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक पटक खान दिने।
३
नरम तथा सजिलै पच्ने खानेकरा थोरै थोरै गरी पटक पटक खुवाइरहने
४
स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङ्क चक्कीको मात्रा नबिराइकन खुवाउने
५
व्यक्तिगत सरसफाईमा ध्यान दिने, र स्वच्छ पानी तथा खाना खाने, स्वास्थ अवस्था बिग्रिँदै गएको खण्डमा भने तुरुन्त स्वास्थ्य संस्था लैजाने ।
यसरी बच्न सकिन्छ
चर्पीमा मात्र दिसा पिसाव गर्ने, दिसा पिसाव गरिसकेपछि साबुनपानीले मिचिमिची हात धुने, खाना बनाउनु, खुवाउनु र खानु अघि साबुनपानीले मिचिमिची हात धुने, पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने, बासी, सडेगलेको, झिँगा भन्केको खानेकुरा नखाने, खानेपानीको मुहान सफा र सुरक्षित राख्ने ।
कस्तो लक्षण देखिएमा स्वास्थ्य संस्था जाने
खान पिउन नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार बान्ता भइरहेमा, ज्यादै तिर्खाएमा, ज्वरो आएमा, धेरै पटक पातलो दिसा गरेमा ।
