काठमाडौं । गृहमन्त्रालयले ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीं)मा बढुवा सिफारिश गरेसँगै डीआईजीका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको दौडधूप शुरू भएको छ ।
भर्खरै अवकाश पाएका आईजीपी शैलेश थापा क्षेत्रीसँगै एआईजीहरू र डीआईजीहरू अनिवार्य अवकाशमा गएसँगै एआईजी र डीआईजीहरूको पद खालि भएको छ ।
जेठ ९ गते उत्तमराज सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने सिफारिस गृहमन्त्रालयले गरेको थियो । उजुरी नपरे १६ गते एआईजीमा बढुवा भएर ५ जनाले फुली लगाउनेछन् ।
त्यस लगत्तै रिक्त पदमा सरकारले बढुवा गर्ने तयारी गरेको छ । सरकारले १७ गते नै खालि भएका १७ वटा पदमा डीईजीहरू बढुवा गर्ने तयारी गरेको छ । २० वटा दरबन्दी रहेको डीआईजीमा मुकुन्दराज आचार्य, नलप्रसाद उपाध्याय र मसउद आलम खाँ मात्र बाँकी रहनेछन् ।
२०५१ चैत ५ गते नियमितमा ६० जना र २०५२ भदौ १९ मा ४० जना वैकल्पिक प्रहरी निरीक्षकमा भर्ना भएका टोलीबाट यसपालि डीआईजी हुने छन् । सरकारले प्रहरी उपरीक्षक (एसपी)बाट २०७५ फागुन ६ गते १३ जनालाई एसएसपीमा बढुवा गरेको थियो ।
