भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै

भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै image

काठमाडौं । पुरातत्व विभागले विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम घर ९आगम छेँ० पुनःनिर्माण गर्ने भएको छ । हनुमानढोका क्षेत्रको नासल चोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम घर आगम छेँ नेपाली सीप र शैलीमा पुनःनिर्माण गर्ने विषयमा सरोकार भएका कार्यालयबीच साझा मत भएपछि पुनःनिर्माण अघि बढेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिए ।

२०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले वसन्तपुर क्षेत्रका ५८ सम्पदामा क्षति भएको थियो । भूकम्पले क्षति गरेका धेरै सम्पदा पुनःनिर्माण भइसकेका छन् । केही पुनःनिर्माणको चरणमा रहेका छन् । चौक्वाठ शैलीमा निर्मित मल्लकालीन दरबारको दक्षिणपश्चिम कुनामा अवस्थित आगम छेँ मन्दिर पुनःनिर्माणका लागि अर्थ मन्त्रालयले केही दिनमै निर्णय गरेपछि थप प्रक्रिया अघि बढ्ने महानिर्देशक प्रधानाङ्गले बताए । यसका लागि सबै प्रक्रिया पूरा गरी अर्थ मन्त्रालयमा फाइल पठाइएको उनले जानकारी दिए ।

नेवार परिवारमा आफ्नै छुट्टै भगवान्स्थल हुन्छ । यसलाई आमग घर मानिन्छ । यसमा परिवारका सदस्यबाहेक अन्यलाई प्रवेश गर्न अनुमति हुँदैन । यसलाई कोठा वा मन्दिरका स्वरूपमा बनाइएको हुन्छ । हनुमानढोका दरबारभित्रको मोहनचोक प्रताप मल्लले बनाएका हुनाले यससँगैको आगम छेँ पनि उनले नै बनाएको बताइन्छ । यो तान्त्रिक दशमहाविद्या देवी अन्नपूर्णको मन्दिर हो । मन्दिरभित्र महत्वपूर्ण भित्तेचित्र छन् ।

मन्दिरको चारैतिर तोरणसहित कलात्मक ढोका छन् । आकर्षक झ्यालहरू छन् । टुँडालमा शिव सम्प्रदायका देवीदेवताका प्रतिमा कोरिएका छन् । प्रत्येक छानाको कुनामा मयुर आकृति छन् । प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमानढोका दरबार हुन गएको जानकार बताउँछन् ।

त्यसपछि श्री ५ पृथ्वीनारायण शाहले विसं १८२६ मा वसन्तपुर दरबार निर्माण गराएपछि यसलाई वसन्तपुर दरबार भन्न थालिएको इतिहास छ । हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग विसं १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ । सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, काल भौरव, काष्ठमण्डपलगायत वरिपरि रहेका अन्य सम्पदालाई यहाँको महत्वपूर्ण सम्पदा मानिन्छ ।

यस स्थानमा मुख्यगरी विभिन्न ११ वटा मुख्य चोक छन् । त्यसैगरी यहाँको अर्को महत्वपूर्ण सम्पदाका रूपमा रहेको प्रसिद्ध कुमारी घरको निर्माण कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले विसं १८१३ मा गराएका हुन् । ‘युनेस्को’ द्वारा बहुमूल्य सम्पदाका रूपमा सूचीकृत विश्वका स्मारक र स्थानलाई विश्वसम्पदा भन्ने गरिन्छ । कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने धरोहरलाई यसमा समावेश गरिन्छ । जुन विश्वसम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ र उक्त समितिमार्फत नै संरक्षण गरिन्छ ।

काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमको संयोजकसमेत रहनुभएका वडा २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी आगम घर पुनःनिर्माणमा सहयोग गरिने बताउँछन् । परम्परागत विधि पूरा गरी पुरानै स्वरूपमा यसको पुनःनिर्माण हुने उनले बताए । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda