भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै

भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै

काठमाडौं । पुरातत्व विभागले विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम घर ९आगम छेँ० पुनःनिर्माण गर्ने भएको छ । हनुमानढोका क्षेत्रको नासल चोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम घर आगम छेँ नेपाली सीप र शैलीमा पुनःनिर्माण गर्ने विषयमा सरोकार भएका कार्यालयबीच साझा मत भएपछि पुनःनिर्माण अघि बढेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिए ।

२०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले वसन्तपुर क्षेत्रका ५८ सम्पदामा क्षति भएको थियो । भूकम्पले क्षति गरेका धेरै सम्पदा पुनःनिर्माण भइसकेका छन् । केही पुनःनिर्माणको चरणमा रहेका छन् । चौक्वाठ शैलीमा निर्मित मल्लकालीन दरबारको दक्षिणपश्चिम कुनामा अवस्थित आगम छेँ मन्दिर पुनःनिर्माणका लागि अर्थ मन्त्रालयले केही दिनमै निर्णय गरेपछि थप प्रक्रिया अघि बढ्ने महानिर्देशक प्रधानाङ्गले बताए । यसका लागि सबै प्रक्रिया पूरा गरी अर्थ मन्त्रालयमा फाइल पठाइएको उनले जानकारी दिए ।

नेवार परिवारमा आफ्नै छुट्टै भगवान्स्थल हुन्छ । यसलाई आमग घर मानिन्छ । यसमा परिवारका सदस्यबाहेक अन्यलाई प्रवेश गर्न अनुमति हुँदैन । यसलाई कोठा वा मन्दिरका स्वरूपमा बनाइएको हुन्छ । हनुमानढोका दरबारभित्रको मोहनचोक प्रताप मल्लले बनाएका हुनाले यससँगैको आगम छेँ पनि उनले नै बनाएको बताइन्छ । यो तान्त्रिक दशमहाविद्या देवी अन्नपूर्णको मन्दिर हो । मन्दिरभित्र महत्वपूर्ण भित्तेचित्र छन् ।

मन्दिरको चारैतिर तोरणसहित कलात्मक ढोका छन् । आकर्षक झ्यालहरू छन् । टुँडालमा शिव सम्प्रदायका देवीदेवताका प्रतिमा कोरिएका छन् । प्रत्येक छानाको कुनामा मयुर आकृति छन् । प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमानढोका दरबार हुन गएको जानकार बताउँछन् ।

त्यसपछि श्री ५ पृथ्वीनारायण शाहले विसं १८२६ मा वसन्तपुर दरबार निर्माण गराएपछि यसलाई वसन्तपुर दरबार भन्न थालिएको इतिहास छ । हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग विसं १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ । सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, काल भौरव, काष्ठमण्डपलगायत वरिपरि रहेका अन्य सम्पदालाई यहाँको महत्वपूर्ण सम्पदा मानिन्छ ।

यस स्थानमा मुख्यगरी विभिन्न ११ वटा मुख्य चोक छन् । त्यसैगरी यहाँको अर्को महत्वपूर्ण सम्पदाका रूपमा रहेको प्रसिद्ध कुमारी घरको निर्माण कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले विसं १८१३ मा गराएका हुन् । ‘युनेस्को’ द्वारा बहुमूल्य सम्पदाका रूपमा सूचीकृत विश्वका स्मारक र स्थानलाई विश्वसम्पदा भन्ने गरिन्छ । कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने धरोहरलाई यसमा समावेश गरिन्छ । जुन विश्वसम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ र उक्त समितिमार्फत नै संरक्षण गरिन्छ ।

काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमको संयोजकसमेत रहनुभएका वडा २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी आगम घर पुनःनिर्माणमा सहयोग गरिने बताउँछन् । परम्परागत विधि पूरा गरी पुरानै स्वरूपमा यसको पुनःनिर्माण हुने उनले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.