लैंगिक हिंसाविरुद्धको अभियान सँगसँगै वर्ग व्यवस्थाबारे जनचेतना जगाउन आवश्यक : मेयर प्रजापति

लैंगिक हिंसाविरुद्धको अभियान सँगसँगै वर्ग व्यवस्थाबारे जनचेतना जगाउन आवश्यक : मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमा लैंगिक हिंसा बढ्नुको मुख्य कारण विद्यमान राजनैतिक व्यवस्था भएको बताएका छन् । भक्तपुर नगरपालिकाको आयोजनामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आइतबार भएको ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिका लगानी ऐक्यबद्धता’ विषयक अभिमुखीकरण कार्यक्रममा लिंगको आधारमा गरिने विभेद र हिंसा नै लैंगिक हिंसा भएको बताएका हुन् ।

महिलामाथि हुने घरेलु हिंसामा महिलाहरुकै संलग्नता बढी देखिएको उल्लेख गर्दै हिंसा अन्त्यको लागि सुन्दर नारा भन्दा पनि जनताको भावनाअनुसार काम हुनुपर्ने उनले तर्क गरे । महिला हिंसामा कमी ल्याउन शिक्षा र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउँदै नेपालमा २०५४ सालबाट नै लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन भए पनि समाजमा त्यसबाट कुनै सकारात्मक सन्देश देखा नपरेको उनले दाबी गरे ।

लैंगिक हिंसाविरुद्धको अभियान सँगसँगै वर्ग व्यवस्थाबारे जनचेतना जगाउन आवश्यक भएको जानकारी दिए । कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैंया सुवालले समाजमा महिलामा मात्र हिंसा हुन्छ भन्ने सोच राख्नु गलत भएको बताउँदै समाजमा लैंगिक हिंसा अन्त्य गर्न सबैकोतर्फबाट पहल हुन जरुरी रहेको तर्क गरिन । भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यांमिखाले समाजमा अन्याय, अत्याचार न्यूनीकरण गर्दै जानुपर्ने र महिलालाई दाइजो भन्दा पनि शिक्षा जरुरी रहेको बताए ।

संसारमा अपराधजन्य घटनाहरु दिनप्रतिदिन विकसित भैरहेकोले यो पनि एक प्रकारको युद्ध हिंसा रहेको उनको भनाई छ । प्रहरी निरीक्षक सुकदेव पौडेलले भक्तपुरका ४ वटा नगरपालिकामध्ये भक्तपुर नगरपालिकामा लैंगिक हिंसाको घटनाहरु कम रहेको र लैंगिक हिंसाको परिभाषामा महिला मात्र नभइ पुरुष पनि समावेश हुने कुरा प्रचारप्रसार गर्नुपर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.