राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले कृत्रिम अभावबारे छानबिनको माग।
मूल्य घटेपछि पेट्रोल पम्पले बिक्री रोकेको भन्दै आपत्ति।
दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग आग्रह।
सार्वजनिक यातायात र हवाई भाडा पुनरावलोकन गर्न पनि माग।
काठमाडौं, १८ असार । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने व्यक्ति तथा संस्थामाथि तत्काल छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै उनले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै देशका विभिन्न स्थानका पेट्रोल पम्पले ‘पेट्रोल–डिजेल छैन’ भन्दै बिक्री वितरण बन्द गरेको सूचना प्राप्त भएको उल्लेख गरे।
सांसद रोकायाले मूल्य बढ्दा त्यसको भार उपभोक्ताले बेहोर्नुपर्ने तर मूल्य घट्दा त्यसको लाभ नागरिकले पाउन नसक्नु दुःखद भएको बताए।
उनले कृत्रिम अभाव सिर्जना गर्ने व्यक्ति वा संस्थाको तत्काल छानबिन गरी कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरे।
साथै, पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा त्यसको प्रत्यक्ष लाभ उपभोक्तासम्म पुग्ने गरी सार्वजनिक यातायात र हवाई सेवाको भाडासमेत अविलम्ब पुनरावलोकन गर्नुपर्ने उनको भनाइ थियो।
