भर्खरै : Sorry, your browser does not support inline SVG.

पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते

पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद, १८ असार । पाकिस्तानमा भारी मनसुनी वर्षासँगै आएको आँधीबेहरी र तीव्र हावाका कारण भएका विभिन्न घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा एक महिला र तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ। उक्त घटनामा १९ जना घाइते भएका छन्। अविरल वर्षाका कारण दुई वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ३८ वटा घरमा आंशिक क्षति पुगेको जनाइएको छ।

यस्तै, पूर्वी पञ्जाब प्रान्तको अटक जिल्लामा भारी वर्षापछि पर्खाल भत्किँदा दुई बालबालिकाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पनि वर्षाजन्य घटनामा एक महिलासहित तीन जनाको ज्यान गएको र पाँच जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूले आगामी दिनमा थप वर्षा हुने पूर्वानुमान रहेकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आकस्मिक बाढी, पहिरो तथा अन्य वर्षाजन्य विपद्बाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.