बागलुङ । १५ हजार ८३८ राष्ट्रिय परिचयपत्र कार्यालयमै थन्किएका छन्। सेवाग्राही लिन नआउँदा जिल्ला प्रशासन कार्यालय बागलुङमा उक्त परिमाणमा परिचयपत्र थनकिएका हुन ।
वडा तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ। जिल्ला प्रशासनमा अहिलेसम्म २८ हजार ८८५ राष्ट्रिय परिचयपत्र तयार भएर आइसकेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । तीमध्ये जम्मा १३ हजार ४७ परिचयपत्र मात्र सेवाग्राहीले लगेका छन् भने १५ हजार ८३८ परिचयपत्र प्रशासनमै रहेको जनाएको छ ।
राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन कार्यालयले जनाएको छ । नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने न्यूनमात्र आउने गरेका छन् ।
राष्ट्रिय परिचयपत्रविरुद्धको सर्वोच्चको रिट खारेजीको निर्णयपछि सरकारले तोकेका हरेक कामका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ।
नेपाली नागरिकता प्रमाणपत्रको कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन अन्तराष्ट्रिय मापदण्डको डिजिटल कार्डका रूपमा प्रयोग गर्न सकिने राष्ट्रिय परिचयपत्रमा बाहकको १० औठाछाप अंकित व्यक्तिको पहिचान समेटिन्छ।
