भर्खरै : Sorry, your browser does not support inline SVG.

अमेरिकाबाट निष्कासित भएर ३७ जना नेपाली स्वदेश फर्किए, सन् २०२५ मै पुग्यो फिर्ता गरिएकाे संख्या १७७

अमेरिकाबाट निष्कासित भएर ३७ जना नेपाली स्वदेश फर्किए, सन् २०२५ मै पुग्यो फिर्ता गरिएकाे संख्या १७७

काठमाडौं, २७ जेठ । अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई अमेरिकी सरकारद्वारा निष्कासन गरी स्वदेश फिर्ता गराउने क्रम तीव्र रूपमा बढेको छ। आइतबार राति अमेरिकाबाट चार्टर विमानमार्फत ३७ जना नेपाली नागरिकलाई फिर्ता गरिएसँगै सन् २०२५ को सुरुवातदेखिनै १७७ जना नेपाली निष्कासनमा परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार, आइतबार फिर्ता गराइएका ३७ मध्ये ३२ जना पुरुष र ५ जना महिला छन्। यो संख्या हालसम्मकै एकैपटक फिर्ता गराइएको सबैभन्दा ठूलो समूह हो। यसअघि फागुन २१ गते नौ जना नेपालीलाई चार्टर फ्लाइटबाट फर्काइएको थियो।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार, फिर्ता गराइएका सबै नेपाली नागरिकलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको छ। अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐनअनुसार, अवैध रूपमा अमेरिका बसोबास गर्ने तथा कानुन उल्लङ्घन गर्ने विदेशी नागरिकलाई स्वतः निष्कासन गर्ने प्रावधान छ।

यो प्रक्रियाअन्तर्गत पहिले “सेल्फ डिपोर्ट” अर्थात् आफैँ स्वदेश फर्किन अनुमति दिइन्छ, तर त्यो अस्वीकार भएमा सरकारले बलपूर्वक फिर्ता गराउने व्यवस्था गरेको छ। सन् २०२५ को जनवरीदेखि मे महिनासम्म १४० जना नेपाली यसरी फिर्ता गरिएका थिए।

त्यसमा जनवरीमा ६ जना, फेब्रुअरीमा २० जना, मार्चमा ३० जना, अप्रिलमा २६ जना र मे महिनामा ५८ जना रहेका छन्। यसअघि पनि अमेरिकी अध्यागमन कानुन उल्लङ्घन गर्ने नेपालीहरू नियमित रूपमा निष्कासित हुँदै आएका थिए – २०२१ मा ३५ जना, २०२२ मा २२ जना, २०२३ मा २४ जना र २०२४ मा ५२ जना।

फिर्ता गरिएका केही नेपालीहरूले भने त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग छोटो कुराकानी गर्दै भने – “त्यो देशमा जानुपूर्व बुझ्न जरुरी छ कि नियम कानुन कडाइका साथ पालना गरिन्छ। फेरि यस्तो तनावमा नपारिदिए हुन्थ्यो। आफ्नो देशमै केही गर्ने सक्ने अवसर खोज्ने हो।”

अमेरिकाबाट निष्कासनमा पर्ने नेपालीको संख्यामा वर्षेनी वृद्धि हुनु नेपाली आप्रवासन व्यवस्थापन, जनचेतना र वैदेशिक यात्रासम्बन्धी नियमन प्रणालीमा गम्भीर पुनर्विचारको खाँचो देखिएको संकेत हो।

 


Thali Mobile Pvt.Ltd.