भर्खरै : Sorry, your browser does not support inline SVG.

जल्दै छ अमेरिका: लस एन्जलसमा आप्रवासी छापामारीविरुद्ध प्रदर्शन उग्र, सुरक्षा कडा

जल्दै छ अमेरिका: लस एन्जलसमा आप्रवासी छापामारीविरुद्ध प्रदर्शन उग्र, सुरक्षा कडा

काठमाडौं, २७ जेठ। अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा आप्रवासीमाथि गरिएको छापाका विरुद्ध सुरु भएको विरोध प्रदर्शन तीव्र रुपमा उग्र बन्दै गएको छ। अवैध रूपमा बसोबास गरिरहेका व्यक्तिहरूको खोजी र पक्राउको विरोधमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन्। प्रदर्शनका क्रममा आप्रवासी र प्रहरीबीच कतिपय स्थानमा झडप हुँदा आगजनी र तोडफोड जस्ता घटनाहरू भएका छन्।

प्रहरीले विरोधकारी नियन्त्रणका लागि गैरघातक गोली चलाउँदा एक जना बेलायती फोटोग्राफर र एक जना अस्ट्रेलियन पत्रकार घाइते भएका छन्। त्यस्तै, करिब ६० जना आन्दोलनकारीहरू पनि प्रहरीको नियन्त्रण प्रयासमा चोटपटक लागेका छन्। यस्ता झडपले तनावपूर्ण स्थिति सिर्जना गरेको छ।

यसैबीच, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले प्रदर्शन नियन्त्रण र सुरक्षा कायम राख्नका लागि ७ सय जल सैनिक परिचालन गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लस एन्जलसमा झण्डै २ हजार सुरक्षा गार्डका सैनिकलाई तैनाथ गरेर सुरक्षा व्यवस्था कडा बनाएको छ।

तर, क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले संघीय प्रशासनद्वारा बिना अनुमति नेशनल गार्ड तैनाथ गरिएर असंवैधानिक कदम चालिएको आरोप लगाउँदै यसको विरोधमा अदालतमा मुद्दा दायर गरेका छन्। गभर्नर न्युसमले राष्ट्रपति ट्रम्पलाई स्थिति बिगार्ने काम गरेको आरोप समेत लगाएका छन्।

डेमोक्र्याटिक पार्टीका अन्य गभर्नरहरू पनि गभर्नर न्युसमसँग एकमत भएका छन् र सैन्य हस्तक्षेपका कदमविरुद्ध खुला रूपमा विरोध जनाएका छन्। उनीहरूका अनुसार संघीय सरकारले क्यालिफोर्नियाको अधिकार उल्लंघन गरेको छ र यसले संघीय र राज्य सरकारबीच तनाव बढाएको छ।

अमेरिकाको यो विवादले आप्रवासी नीति र संघीय-राज्य सरकारबीचको सम्बन्धमा नयाँ बहस र द्वन्द्वको संकेत गरेको छ। यद्यपि, आगामी दिनहरूमा स्थिति कस्तो बन्दै जानेछ भन्ने विषयमा सबैको नजर छ।

अहिले लस एन्जलस र वरपरका क्षेत्रमा सुरक्षा कडा गरिएको छ भने प्रदर्शनकारीहरू पनि अझै सक्रिय छन्। आगामी दिनमा आन्दोलन कति लामो समयसम्म र कस्तो रूप लिन्छ, त्यो हेर्न बाँकी छ।

 


Thali Mobile Pvt.Ltd.