मुख्य बुँदा
बागलुङका चूडामणि कँडेल सात वर्षदेखि कालिजपालनमा सक्रिय
रु २४ हजारबाट सुरु गरेको व्यवसायमा अहिले सम्म रु ५० लाखभन्दा बढी लगानी
१० रोपनी क्षेत्रफलमा ‘सानो स्वर्ग’ नामको फार्म सञ्चालन
फार्ममा करिब २ हजार कालिज, तीमध्ये १,५०० बिक्रीका लागि तयार
दशैं–तिहारमा मात्र करिब २०० कालिज बिक्री
प्रतिकालिज रु २,०००–२,५०० मा बिक्री
चितुवाले फार्ममा छिरेर १५० कालिज मार्दा तीन लाख बराबर क्षति
स्वास्थ्यकर्मी चूडामणि बिहान–बेलुकी फार्म र दिउँसो अस्पतालमा काम
ह्याचरीमार्फत आफैँ चल्ला उत्पादन गर्न थालेपछि उत्पादन क्षमता बढदै
यस वर्ष रु १५ लाख बराबर कालिज बिक्री गर्ने लक्ष्य
स्थानीय समुदाय कँडेलको सफल उद्यमशीलताबाट दंग
बागलुङ, २८ कार्तिक । घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म। त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडिने, उफ्रिने र उड्ने गर्छन्। बागलुङको ढोरपाटन नगरपालिका(२ सलामकोटका स्थानीय चूडामणि कँडेलले कालिजपालन गरेको सात वर्ष भयो।
कँडेलले २०७५ सालमा रहरले काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज ल्याएर पालेका थिए। शुरुमा उनलाई व्यावासयिक रूपमा पालन गर्छु भन्ने लागेको थिएन। तर पछि धेरै पाल्ने चाहना जागेपछि अहिले उनको कालिजपालन व्यवसाय फस्टाउँदै गएको हो।
रु २४ हजारमा चारवटा कालिज ल्याएर थालेको व्यवसायमा कँडेलले हालसम्म ५० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन्। १० रोपनी क्षेत्रफलमा कँडेलले तारबार लगाएर कालिज हुर्काइराखेका छन्।
कालिज व्यवसाय राम्रो हुँदै गएपछि उनले चल्लासमेत आफैँ उत्पादन गर्न थालेका छन्। वनमा पाइने कालिज कँडेलले व्यावसायिक रूपमै पाल्न थालेपछि स्थानीयसमेत दङ्ग छन्। बाह्र वर्ष अगाडि स्थायी रूपमा सरकारी सेवामा प्रवेश गरेका कँडेल स्वास्थ्यकर्मी हुन्।
बिहानबेलुका कालिजको रेखदेख गर्ने उन दिउँसोको समयमा बुर्तिबाङ प्रादेशिक अस्पतालमा काम गर्छन्। सानैदेखि चराचुरुङ्गी समाउन र पाल्न रुचि राख्ने कँडेलले कालिजपालनमा थालेपछि टाढाटाढाबाट हर्ने आउनेको सङ्ख्या ठूलो छ।
सात वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर शुरु गरेको व्यवसाय राम्रो हुँदै गएपछि कँडेल उत्साहित भएका छन्। अहिले उनको फार्ममा सानाठूला गरी करिब दुई हजार कालिज छन्। एक हजार ५०० बढी त बिक्रीका लागि तयार भएको कँडेलले बताए।
दशैंतिहारको अवधिमा करिब २०० कालिज बिक्री भएको सुनाउँदै पछिल्लो समय कालिज खोज्दै फार्मसम्म धेरै ग्राहक आउने गरेको उनले जानकारी दिए। सुरुमा कालिज बिक्री गर्न निकै समस्या भएको भन्दै अहिले राम्रो बजार पाएको कँडेल बताउँछन्। प्रतिकालिज दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री गर्दै आएको उनको भनाइ छ।
‘यो पेसा मेरो रहरको पेसा हो, मैले सुरुमा थोरै लिएर पालेको थिएँ, पछि यसलाई व्यावसायिक रूपमा गर्न सकिने सम्भावना देखेपछि फार्म निर्माण गरेर पाल्न थालेको हुँ, सात वर्षमा कालिजपालन कसरी गर्न सकिँदोरहेछ भन्ने बुझियो, कालिजका भाषा पनि बुझ्न थालियो’, उनले भने, ‘पहिले धेरै समस्या थियो, अहिले विस्तारै राम्रो हुँदै गएको छ, लगानी पनि बढाउँदै गएको छु।’
केही दिनअगाडि चितुवा फार्ममा पसेर १५० कालिज मारिदिँदा तीन लाख नोक्सानी व्यहोरेको उनले सुनाए। रुचिले पाल्न थालेको कालिज अहिले आम्दानीको स्रोत बन्न थालेपछि कँडेल खुशी छन्।कँडेलको कालिजपालनलाई बुबा तुलसीराम कँडेलले साथ दिएका छन्।
यस वर्ष रु १५ लाखको कालिज बिक्री गर्ने लक्ष्य रहेको चुडामणिले बताए। पछिल्लो समय फार्म व्यवस्थित बन्दै गएपछि मागसमेत बढ्दै गएको कँडेलको भनाइ छ। शुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत आफैँ चल्ला उत्पादन गर्ने उनी बताउँछन्। उत्पादन बढ्दै गए पनि बजार पाउन भने मुस्किल पर्ने उनले सुनाए। रासस