बागलुङमा सडक खन्ने क्रममा माटोको ढिस्को खस्यो, दुई मजदुरको मृत्यु

बागलुङमा सडक खन्ने क्रममा माटोको ढिस्को खस्यो, दुई मजदुरको मृत्यु

बागलुङ, १९ असाेज । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

आज बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा माथिबाट अचानक माटोको ढिस्को खसेको थियो । ढिस्को खस्दा सडकमा काम गरिरहेका मजदुरहरू पुरिएका हुन् ।

घटनामा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनालाई माटोको ढिस्कोमा पुरिएको अवस्थामा उद्धार गरिएको थियो ।

घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.