काठमाडौं, ३१ असार । बागमती प्रदेशका सबै १३ वटै जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। यो घोषणासँगै बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश बनेको छ, जसले स्वास्थ्य सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
उक्त अभियानलाई सफल बनाउन प्रदेशभरका ११९ वटा पालिका, तिनमा कार्यरत जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, कर्मचारी, र समुदायको सक्रिय सहभागिता रहेको छ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भन्नुभयो, “पूर्ण खोप सुनिश्चितता केवल संख्याको कुरा होइन, यो नागरिकको स्वास्थ्य अधिकार र भविष्य सुरक्षाको सवाल हो। अब दिगोपनालाई निरन्तरता दिनु हाम्रो सामूहिक जिम्मेवारी हो।”
स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले पूर्ण खोप दिगोपना घोषणा कार्यक्रममा सङ्घीय, प्रदेश र स्थानीय सरकारको समन्वय, स्वास्थ्यकर्मीको समर्पण र समुदायको सहभागिता निर्णायक भएको बताउँदै उहाँले भन्नुभयाे “यो केवल कार्यक्रम होइन, जनस्वास्थ्यको दिगो आधार बनाउने अभियान हाे । बागमती प्रदेशमा खोप कार्यक्रमलाई व्यवस्थित, सशक्त र जनमुखी बनाइँदै गएको छ।”
स्वास्थ्य मन्त्रालयले यस अभियानमा सहभागी सबै पालिका, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, र कर्मचारीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा खोप कार्यक्रमको दिगोपना सुनिश्चित गर्न निरन्तर सहकार्यको अपेक्षा गरेको जनाएकाे छ।