‘बैंकबाट बोलेको हुँ’ भन्दै केवाइसी अपडेटको नाममा ठगी।
स्क्रिन सेयर गराएर ओटीपी लिने गरेको प्रहरीको भनाइ।
खातामा पहुँच पुर्याएर रकम अन्य खातामा रकमान्तर।
गिरोहमा संलग्न आरोपमा चार जना पक्राउ।
पक्राउ परेकामाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान।
प्रहरीले ओटीपी, पासवर्ड र पिन कसैलाई नदिन आग्रह गरेको छ।
काठमाण्डौ, ३ भदाै । बैंकबाट बोलेको भन्दै ‘केवाइसी अपडेट’ का नाममा सर्वसाधारणलाई ठगी गर्ने गिरोहका चार जना पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनीहरूलाई चितवनबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाराको देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले आफू बैंकबाट बोलेको भन्दै विशेषगरी बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए। ‘केवाइसी अपडेट गर्नुपर्ने’ भन्दै स्क्रिन सेयर गर्न लगाएर ओटीपी कोड प्राप्त गर्ने र त्यसपछि पीडितको बैंक खातामा अनधिकृत पहुँच पुर्याई रकम अन्य खातामा रकमान्तर गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पक्राउ परेकाहरूले बैंक तथा वित्तीय संस्थाको नाम प्रयोग गरी यस्तो ठगी गर्दै आएका थिए। उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले बैंक तथा वित्तीय संस्थाको नाममा फोन वा अनलाइन सम्पर्क गरी माग गरिने ओटीपी, पासवर्ड, पिन तथा अन्य संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन आग्रह गरेको छ।
