भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

मुख्य बुँदा

चितवनको खैरहनीमा बर्खे धानमा फेद डढुवा रोग देखिन थाल्यो

अहिले रोग फाट्टफुट्ट मात्र देखिए पनि कृषि शाखाले निगरानी बढायो

धान बाक्लो नरोप्न र सन्तुलित मलखाद प्रयोग गर्न सुझाव

चैते धानमा मरुवा देखिएकाले बर्खे धानमा पनि सतर्कता अपनाउन आग्रह

खैरहनीमा ३ हजार ९३९ हेक्टरमा बर्खे धान खेती हुँदै

चितवन, ३ भदौ । चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खे धानमा पातको फेद डढुवा (शीथ ब्लाइट) रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन् ।नगरपालिकाका कृषि अधिकृत सिर्जना श्रेष्ठका अनुसार नगरपालिकाका केही क्षेत्रमा धानको पातको फेदमा फेद डढुवा रोगका प्रारम्भिक लक्षण देखिन थालेका छन् । अहिले रोग धेरै फैलिएको अवस्था नरहे पनि फाट्टफुट्ट रूपमा देखिन थालेकाले किसानलाई बेलैमा सचेत भएर धानबालीको नियमित निरीक्षण गर्न आग्रह गरिएको उनले बताए ।

“अहिले फेद डढुवा धेरै फैलिएको अवस्था छैन । केही ठाउँमा छिटफुट रूपमा देखिएको जानकारी आएको छ । हामीले खेतमै पुगेर यसको अवस्थाबारे रिपोर्टिङ गरिरहेका छौँ”, कृषि अधिकृत श्रेष्ठले भने । फेद डढुवा राइजोक्टोनिया सोलानी नामक ढुसीका कारण लाग्ने गर्दछ । रोग लागेमा सुरुमा पातको फेदमा अन्डाकार खैरो–हरियो थोप्ला देखिने र प्रकोप बढ्दै गएपछि ती थोप्ला फैलिँदै गई सिङ्गो बोट नै डढेको जस्तो देखिने उनले जानकारी दिए ।

उनका अनुसार रोग माटोबाट समेत सर्ने भएकाले धान रोप्नुअघि नगरपालिकाबाट अनुदानमा उपलब्ध हुने जैविक विषादी प्रयोग गरी माटो उपचार गर्न सकिन्छ । बीउ उपचार गर्दा कार्बेन्डाजिम दुई ग्राम प्रतिकिलो बीउका दरले प्रयोग गर्न उनले सुझाव दिए । धान बाक्लो रोप्न नहुने, युरिया मलमात्र बढी प्रयोग नगरी सन्तुलित रूपमा मलखाद प्रयोग गर्नुपर्ने उनको भनाइ छ । सुरुआती अवस्थामै रोगको पहिचान गरी व्यवस्थापन गर्न सके प्रकोप फैलिनबाट रोक्न सकिने उनले बताए ।

रोगको जोखिम बढेमा एजोक्सिस्ट्रोबिन १८।२ प्रतिशत र डाइफेनोकोनाजोल ११।४ प्रतिशतको मिश्रण एक मिलीलिटर प्रतिलिटर पानीका दरले वा भ्यालिडामाइसिन तीन मिलीलिटर प्रतिलिटर पानीका दरले मिसाएर छर्कन सकिने कृषि शाखाले जनाएको छ । खैरहनीमा बर्खे धानको खेती राम्रो हुने भएकाले अहिले धानमा बाला निस्कने समय सुरु भएको छ । फेद डढुवा रोग हरेक वर्ष धानबालीमा देखिने गरेकाले यस वर्ष पनि समयमै सावधानी अपनाउन किसानलाई आग्रह गरिएको हो ।

यसैगरी, धानबालीमा मरुवा ९ब्लास्ट० रोगको जोखिमसमेत रहेकाले किसानलाई फेद डढुवा र मरुवा दुवै रोगको नियमित निगरानी गर्न कृषि शाखाले आग्रह गरेको छ । यस वर्ष चैते धानमा मरुवा रोगका कारण क्षति भएकाले बर्खे धानमा समयमै सावधानी अपनाउनुपर्ने कृषि अधिकृत श्रेष्ठले बताए ।

खैरहनी नगरपालिकामा बर्खे धान तीन हजार ९३९ हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएको छ । धानखेतीका लागि अनुकूल क्षेत्र मानिने खैरहनीमा अहिले धानमा बाला निस्कने समय भएकाले रोगको जोखिमसमेत बढ्ने गर्दछ । रासस

 


Thali Mobile Pvt.Ltd.