भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएपछि सेवाग्राहीको चाप ह्वात्तै बढ्यो

भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएपछि सेवाग्राहीको चाप ह्वात्तै बढ्यो

मुख्य बुँदा 

भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएपछि सेवाग्राहीको चाप तीव्र रूपमा वृद्धि
पाँच महिनामा १ हजार ७० जना बिरामीले सिटी स्क्यान सेवा लिए
निजी अस्पतालको महँगो शुल्क र काठमाडौंका सरकारी अस्पतालको लामो पालोको विकल्प बनेको भक्तपुर अस्पताल
सिटी स्क्यान सेवा तीन हजार रुपैयाँमै उपलब्ध
वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरद्वारा जेठ ४ गते सिटी स्क्यान मेसिन उद्घाटन
तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमको पहलमा १६० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान
आठ करोड लागतमा खरिद गरिएको मेसिन १० वर्षसम्म ग्यारेन्टीसहित सञ्चालन
कोरोना महामारीपछि अस्पतालमा आईसीयू, एनआईसीयू तथा सेवा विस्तार
भक्तपुर अस्पताल हाल दैनिक ९ सयदेखि ११ सय बिरामीको उपचार केन्द्र
खरिद प्रक्रियामा ई–बिडिङ प्रणाली लागू गरी पारदर्शिता कायम

भक्तपुर, कात्तिक २३ । सिटी स्क्यान गर्नुपर्ने बिरामीहरूलाई महँगो शुल्क तिरेर काठमाडौंसम्म जानुपर्ने बाध्यता भक्तपुर अस्पतालले अन्त्य गरेसँगै सेवाग्राहीको चाप ह्वात्तै बढेको छ। अस्पतालमै सर्वसुलभ, छिटो र गुणस्तरीय सिटी स्क्यान सेवा उपलब्ध भएपछि भक्तपुर मात्र नभई आसपासका जिल्लाबाट समेत बिरामीहरू सेवा लिन आउन थालेका छन्।

वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गत जेठ ४ गते भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन उद्घाटन गरेसँगै सेवा सञ्चालनमा आएको हो। उद्घाटनपछि पाँच महिनाको अवधिमा एक हजार ७० जना बिरामीले सिटी स्क्यान सेवा लिइसकेको अस्पतालले जनाएको छ।

भक्तपुर अस्पतालमा टाउकोको सिटी स्क्यान गराउन आउनुभएका सूर्यविनायक नगरपालिका–१ सिरुटार निवासी अमृत केसीले निजी अस्पतालमा महँगो शुल्क र काठमाडौंका सरकारी अस्पतालमा लामो समय पालो कुर्नुपर्ने बाध्यताबाट मुक्त भएर भक्तपुर अस्पतालबाट सहज रूपमा सेवा पाएको बताउनुभयो।

उहाँले निजी अस्पताल र काठमाडौंका सरकारी अस्पतालमा धाउँदा खर्चिलो र झन्झटिलो हुने गरेको उल्लेख गर्दै भक्तपुर अस्पतालमा भने अन्य सरकारी अस्पतालभन्दा सस्तो दरमा मात्र तीन हजार रुपैयाँमै सिटी स्क्यान सेवा पाएको भन्दै सन्तुष्टि व्यक्त गर्नुभयो।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले सिटी स्क्यान मेसिन जडान भएपछि सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको जानकारी दिनुभयो। उहाँका अनुसार तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमको विशेष पहल र मागअनुसार वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले सिटी स्क्यान मेसिन खरिदका लागि ठेक्का सम्झौता गरी गत बैशाखमा मेसिन अस्पतालमा ल्याइएको थियो। सो मेसिन जेठ ४ गतेदेखि नियमित रूपमा सञ्चालनमा आएको हो।

डा. भट्टका अनुसार रिफरल सेन्टरको रूपमा परिचित भइसकेको भक्तपुर अस्पतालमा डा. सुमित्रा गौतम मेडिकल सुपरिटेन्डेन्ट भएर आएपछि कोरोना महामारीको जटिल समयमा आईसीयू, एनआईसीयू सञ्चालन तथा विभिन्न स्वास्थ्य सेवाको विस्तार गरिएको थियो।

ती सुधारात्मक कार्यका कारण अस्पताल तीन पटकसम्म देशकै उत्कृष्ट अस्पताल घोषित हुन सफल भएको उहाँले बताउनुभयो। हाल भक्तपुर अस्पतालमा दैनिक ९ सयदेखि ११ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्।

डा. भट्टले तत्कालीन वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलको नेतृत्वमा राजनीतिक सल्लाहकार डिपी ढकालको सिफारिसमा बजेट विनियोजन भई स्वास्थ्य मन्त्रालयले आठ करोड रुपैयाँ लागतमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिदका लागि बोलपत्र आह्वान गरेको स्मरण गर्नुभयो। त्यसपछि डा. गौतमको पहलमा मन्त्रालयले १६० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गरी भक्तपुर अस्पतालमा जडान गरेको उहाँले बताउनुभयो।

भक्तपुर अस्पतालमा पहिलो पटक मेसिन, औषधि तथा उपकरण खरिदमा हुँदै आएको मनोमानी अन्त्य गर्दै डा. सुमित्रा गौतमले ई–बिडिङ अर्थात् अनलाइन बोलपत्र प्रणाली लागू गरेपछि खरिद प्रक्रिया पारदर्शी बन्दै आएको अस्पताल प्रशासनको भनाइ छ।

सिटी स्क्यान मेसिन आपूर्ति गर्ने कम्पनीले आगामी १० वर्षसम्म मेशिन सञ्चालनमा कुनै समस्या नआउने ग्यारेन्टीसहित सम्झौता गरेको जानकारी दिँदै डा. भट्टले आवश्यक पेपर तथा सामग्रीसमेत १० वर्षका लागि पर्याप्त व्यवस्था गरिएको बताउनुभयो।

उहाँका अनुसार डा. गौतमको पहल र नेतृत्वकै कारण भक्तपुर अस्पतालमा अत्याधुनिक सिटी स्क्यान सेवा सञ्चालनमा आएको हो, जसले बिरामीहरूलाई ठूलो राहत मिलेको छ।

 


Thali Mobile Pvt.Ltd.