भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

भक्तपुर नगरपालिकाले समाजवादउन्मुख कार्य सम्पादन गर्दै आएको छः मेयर सुनिल प्रजापति

भक्तपुर नगरपालिकाले समाजवादउन्मुख कार्य सम्पादन गर्दै आएको छः मेयर सुनिल प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा, स्वास्थ्य, सम्पदा पुनः निर्माण, सरसफाईजस्ता जनताका आधारभूत विषयहरूलाई नगरपालिकाले जोड दिँदै आएको बताएका छन् । धनुषा जिल्लाका २ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखसहितको प्रतिनिधिमण्डलले भक्तपुर नपाका गतिविधिहरूको स्थलगत अवलोकन तथा छलफलको सिलसिलामा सोमबार भएको भेटमा उनले उक्त कुरा बताएका हुन ।

टोलीलाई भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले दुई दशक अघि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले लेखेको ‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’ पुस्तकलाई आधार बनाई काम गर्दै आएको जानकारी दिए । उनले भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रलाई आधार बनाई संविधानले कल्पना गरेको समाजवादउन्मुख कार्य गर्दै आएको बताउँदै स्वास्थ्य क्षेत्रअन्तर्गत घरदैलो नर्सिङ सेवा, वडा वडामा स्वास्थ्य केन्द्र स्थापना, नगरपालिकाको १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गर्दै २०–२५ मिनेटभित्र नागरिकहरूलाई स्वास्थ्य केन्द्र पुग्ने व्यवस्था गर्दै आएको बताए । ‘देशका विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरू भक्तपुरका शैक्षिक संस्थाहरू अवलोकन गर्न आउने र आ–आफ्ना पालिकामा पनि ख्वप कलेज जस्तै शैक्षिक संस्थाहरू खोल्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।’ उनले भने ।

कार्यक्रममा बोल्दै धनुषा जिल्लाको शहिदनगर नगरपालिकाका उपप्रमुख सुनिताकुमारी सिंहले भ्रमणको उद्देश्यमाथि प्रकाश पार्दै भक्तपुर नपाले शिक्षामा गरिरहेको सकारात्मक अभ्यासको अनुसरण गरिने बताइन । भक्तपुरको शैक्षिक विकासबाट आफूहरू प्रभावित भएको बताउँदै विभिन्न स्थानीय तहहरूबीचको अनुभव आदानप्रदानले जनप्रतिनिधिहरूमा उत्साह मिल्ने उनको भनाई थियो । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले अध्ययन भ्रमण फलदायी हुने आशा व्यक्त गर्दै भक्तपुरको भ्रमणको अनुभवलाई आफ्नो कार्य क्षेत्रमा कार्यान्वयन गरी त्यहाँको शैक्षिक स्तर उकास्न विभिन्न कार्यहरू हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नगर शिक्षा शाखाका प्रमुख साधुराम फुयालले भक्तपुर नगरपालिका भित्र सामुदायिक र संस्थागत गरी जम्मा ९२ वटा विद्यालयहरू रहेकोमा भक्तपुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तरमा रहेको अन्तरलाई कम गर्दै लैजाने प्रयास गरिरहेको जानकारी दिए । कार्यक्रमपश्चात नगर प्रमुख प्रजापतिले प्रतिनिधिमण्डल टोलीलाई नपाका प्रकाशन उपहार स्वरुप प्रदान गरेका थिए । कार्यक्रममा जनकनन्दिनी गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगल, श्री जनता नमुना मावि कुम्भकरण, श्री प्रगतिशील मावि, आसमान नेपाल संस्थाका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षा शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।