मुख्य बुँदा:
वीरगञ्जमा २५४ मध्ये ७१ जनामा हैजा पुष्टि
अस्पतालमा बिरामीको चाप बढ्दो, नारायणी अस्पतालले बिदामा रहेका चिकित्सकलाई पनि हाजिर गर्न निर्देशन
स्वास्थ्यकर्मी १३० जनाको टोली गाउँ–टोलमा सरसफाई, निरीक्षण र स्वच्छता अभियानमा सक्रिय
विद्यालय र कलेजमा सोमबार–मंगलबार बिदा घोषणा
काठमाडौँ, ९ भदौ । पर्साको वीरगञ्जमा हैजा नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहका अनुसार हैजाका लक्षण देखिएका २५४ मध्ये ७१ जनामा संक्रमण पुष्टि भएको छ।
केहीको नमुना परीक्षणका लागि पठाइएको छ र रिपोर्ट आउन बाँकी छ। १२४ जना बिरामी डिस्चार्ज भइसकेका छन्। वीरगञ्जका अस्पतालहरूमा बिरामीको चाप निरन्तर बढ्दो छ। नारायणी अस्पताल, तराई हस्पिटल, नेसनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर लगायतका अस्पतालमा सामान्य अवस्थाभन्दा बढी बिरामी भर्ना भएका छन्।
बिरामीको चाप बढेपछि नारायणी अस्पतालले चिकित्सक र कर्मचारीहरुलाई बिदा नबस्न उर्दी जारी गरेको छ र बिदामा रहेका चिकित्सकलाई पनि तुरुन्त हाजिर हुन निर्देशन दिएको छ। हैजाको फैलावट रोक्न स्थानीय तहदेखि केन्द्र सरकारसम्म समन्वयमा प्रयास भइरहेको छ।
महानगरका स्वास्थ्य शाखा प्रमुख साहका अनुसार जनचेतना फैलाउन स्वास्थ्यकर्मी सहित १३० जनाको टोली गाउँ–टोलमा परिचालन गरिएको छ। उनीहरूले सरसफाई अभियानसहित खाद्य पदार्थ निरीक्षण र स्वच्छता परीक्षणमा काम गरिरहेका छन्।
साथै, महानगरपालिकाले सोमबार र मंगलबार महानगर क्षेत्रभित्रका विद्यालय तथा कलेजमा बिदा घोषणा गरेको छ। स्वास्थ्य मन्त्रालयले पठाएको टोली पनि प्रभावित क्षेत्रको अनुगमन र गाउँ–टोलमा काममा सक्रिय छ। पानीको नमुना काठमाडौं पठाइसकेको भए पनि रिपोर्ट अझै आउन बाँकी छ।

