भर्खरै : Sorry, your browser does not support inline SVG.

विश्व स्तनपान सप्ताह शुरू, बोतलबाट दूध खुवाउने संख्या बढ्दो

विश्व स्तनपान सप्ताह शुरू, बोतलबाट दूध खुवाउने संख्या बढ्दो

मुख्य बुदा:

  • विश्व स्तनपान सप्ताह नेपालमा ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण बनाऔँ’ नारा

  • स्तनपानले शिशु मृत्युदर घटाउने र कुपोषण रोक्न महत्वपूर्ण भूमिका खेल्छ।

  • जन्मपछिको १ घण्टाभित्र स्तनपानले नवजात मृत्यु २२% ले घटाउँछ।

  • ६ महिनासम्म केवल आमाको दूध खुवाउँदा बाल मृत्युदर २०% ले घट्न सक्छ।

  • नेपालमा बोतलबाट दूध खुवाउनेको सङ्ख्या १३% बाट २२% पुगिसकेको छ, जुन स्वास्थ्यका लागि राम्रो छैन।

  • महिलाको शरीर बिग्रने डर, कृत्रिम दूधको सजिलो उपलब्धता, र गलत धारणा कारण बोतल खुवाउने बढेको बताइएको छ।

काठमाण्डौ, १६ साउन । विश्व स्तनपान सप्ताह आजदेखि नेपालमा सुरु भएको छ। ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण बनाऔँ’ भन्ने नाराका साथ अगस्ट १ देखि ७ सम्म मनाइने यो सप्ताह मातृ र शिशु स्वास्थ्यसँगै राष्ट्रिय उत्पादकत्वसँग जोडिएको महत्वपूर्ण कार्यक्रम हो।

विश्व स्वास्थ्य संगठनले सन् १९९२ देखि मनाउन थालिएको यस सप्ताहको मुख्य उद्देश्य शिशुहरूको जीवन रक्षा गर्दै मातृ–शिशु पोषणमा सुधार ल्याउनु हो। स्तनपानलाई शिशुलाई दिइने पहिलो खोपको रूपमा मानिन्छ, जसले नवजात शिशुको कुपोषण र मृत्यु दर घटाउनमा ठूलो भूमिका खेल्दछ।

स्वास्थ्यकर्मीहरूका अनुसार जन्मपछिको पहिलो घण्टाभित्र स्तनपान गराउँदा नवजात मृत्यु दर २२ प्रतिशतले घट्ने देखिएको छ। यद्यपि, एक दिनपछिको ढिलाइले मृत्यु दर २ दशमलव ४ प्रतिशतले बढ्ने सम्भावना पनि रहेको छ। विशेषज्ञहरूले ६ महिनासम्म केवल आमाको दूध मात्र खुवाइएमा बाल मृत्यु दरमा २० प्रतिशतसम्म कमी आउन सक्ने बताएका छन्।

तर पछिल्लो समय नेपालमा बोतलबाट दूध खुवाउनेको सङ्ख्या उल्लेखनीय रूपमा बढिरहेको छ। नेपाल जनसङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार बोतलबाट दूध खुवाउनेहरूको प्रतिशत १३ प्रतिशतबाट बढेर २२ प्रतिशत पुगेको छ। यो वृद्धि नवजात शिशुको स्वास्थ्यका लागि राम्रो संकेत होइन।

स्तनपान नगर्दा बालबालिकामा झाडापखाला, श्वासप्रश्वासको समस्या र मोटोपन लगायतका रोगहरू देखापर्न सक्छन्। मातृ स्वास्थ्यमा पनि असर पर्ने गर्दछ, जसमा स्तन तथा अण्डाशयको क्यान्सर, टाइप टु मधुमेह जस्ता रोगको जोखिम बढ्न सक्छ।

आमाको दूधमा जीवाणु नष्ट गर्ने ३० लाखभन्दा बढी प्रतिरक्षा कोशिकाहरू पाइन्छन्, जुन कृत्रिम फर्मुला दूधमा हुँदैन। यसैले आमाको दूध शिशुका लागि अत्यन्त सुरक्षित र पोषणयुक्त हुन्छ।

बोतलबाट दूध खुवाउने प्रवृत्ति बढ्नुको कारणहरूमा महिलाको शारीरिक बनावट बिग्रने डर, कृत्रिम दूधको सजिलो उपलब्धता, ६ महिनासम्म आमाको दूध मात्रले पुग्दैन भन्ने गलत धारणा, तथा देखासिकी प्रवृत्तिलाई मुख्य कारण मानिएको छ।

स्वास्थ्यकर्मीहरूले आमालाई स्तनपानमा प्रोत्साहन गर्न, घर र समाजमा सहयोगी वातावरण बनाउने आवश्यकतालाई जोड दिएका छन्। आगामी सात दिनसम्म चल्ने यस सप्ताहमा स्तनपानका फाइदाहरू, पोषण र मातृत्वको महत्वबारे जनचेतना फैलाउन विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। यसले मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउने, बाल मृत्यु घटाउने र समग्रमा राष्ट्रिय स्वास्थ्य प्रणालीलाई मजबुत बनाउने विश्वास गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.