कास्की । बीस रुपयाँ पर्ने पानीको बोतल रु १०० मा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा दुई लाख जरिवाना गरेको छ । द वल्ड लान हुआ रेस्टुरेन्ट एन्ड बारलाई कारबाही गरेको हो ।
पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम उक्त रेस्टुरेन्टलाई कारबाही गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।
सोही स्थानका एक ग्राहकले रु २० पर्ने एक बोतल मिनरल वाटर रु एक सय तिरेको बिलसहित प्रशासनमा उजुरी दिएका थिए । सो रेस्टुरेन्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख० बमोजिम जरिवाना गरिएको जनाएको छ।