भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

१३ वर्षमा पनि बनेन पुल, ठेक्का तोड्ने सरकारको तयारी, निर्माण कम्पनी अदालतमा

१३ वर्षमा पनि बनेन पुल, ठेक्का तोड्ने सरकारको तयारी, निर्माण कम्पनी अदालतमा

सिरहा । सरकारले हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल निर्माणको ठेक्का सम्झौता तोड्ने तयारी गरेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार १३ वर्षअघि शुरु भएको पुलको काम ‘लुम्बिनी बिल्डर्स’ लाई अन्तिम पटक आगामी असार मसान्तसम्म गर्न जिम्मा दिइएको थियो।

निर्माण कम्पनीले एक महिनादेखि काम ठप्प पारेपछि ठेक्का सम्झौता रद्द गरी कारबाही प्रक्रिया अघि बढाएको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताए।‘सम्झौताअनुसार असार मसान्तसम्म काम सम्पन्न हुनुपर्ने हो। तर, एक महिनाअघिदेखि निर्माण कम्पनीले काम ठप्प पारेको छ। म्याद थपको लागि निवेदन पनि दिएको छैन’, उनले भने, ‘सम्झौताअनुसार काम नभएपछि कारबाहीको लागि केन्द्रमा सिफारिस गरेका छौँ।’

यसअघि निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनसम्म पुगेको थियो। पुल निर्माणको क्रममा पुलको दुईवटा पाएर भासिएपछि निर्माण कम्पनीले बिमाबापतको रकम दाबी गरेको थियो। मुद्दा अदालतमा विचाराधीन भएकाले निर्माण सम्झौता र कारबाही प्रक्रिया के हुने भन्नेबारेमा निर्देशनालयले कानुनी परामर्श गरिरहेको प्रमुख महतोले बताए।

पुलको निर्माणको अन्तिम चरणमा रहेको बेला बाढीले क्षति पुर्‍याएपछि कम्पनीले क्षतिबापत बिमाबाट पाउनुपर्ने आठ करोड रुपैयाँ नपाएकाले आफूहरू अदालत जानुपरेको निर्माण कम्पनीका ‘लुम्बिनी बिल्डर्स’ का ‘साइट इञ्चार्ज’ सुदीप थापाले बताए। रकम प्राप्त नभएकैले पुल निर्माणको बाँकी काम रोकेको उनले बताए।

२०६८ सालमा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो। तर, पटक(पटक म्याद थपेर १३ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अधुरै छ। ‘पप्पु कन्ट्रक्सन’ले तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम ‘लुम्बिनी बिल्डर्स’ले गर्दै आएको थियो। यसबीचमा अन्तिमपटकका लागि ०८२ असारसम्मको थपिएको हो।

स्थानीयले वर्षौँदेखि कमलामा काम चलाउ काठेपुल बनाएर आवतजावत गरिरहे पनि वर्षायाममा भने सोही पुल बगाएर सधैँ सास्ती भोग्नुपरेको सिरहा नगरपालिका-६ का वडाध्यक्ष इन्द्रजित यावदले बताए। उनका अनुसार सिरहा र सप्तरीका मानिसलाई प्रदेश राजधानी जनकपुर आउजाउ गर्न भारतीय बजार जयनगर वा १०० रुपैयाँ तिरेर डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ। त्यस्तै आधा घण्टाको बाटोलाई मिर्चैया, ढल्केवर हुँदै करिब तीन घण्टा लामो घुमाउरो यात्रा गर्नुपर्ने हुनेछ।

तराई मधेशको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी सडक मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो। सम्पन्न भई उद्घाटनको तयारी भइसकेको अवस्थामा कमला नदीमा आएको बाढीले भासिएको पुलको पुनर्निर्माणमा ढिलाइ मात्र भएको छैन, बन्ने(नबन्ने अनिश्चित देखिएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.