भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ८ नैचाल गोम्बोडाँडामा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । शनिबार भव्य समारोहकाबीच बौद्ध परम्परा अनुसार उक्त डाँडामा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको हो । मूर्ति प्रतिस्थापन कार्यक्रमलाई उद्घाटन गर्दै बागमती प्रदेश सभा सदस्य किरण थापाले नैचालको विकासका निम्ति आफूले विगतदेखि वर्तमानसम्म गरेका काहरुको स्मरण गरे ।
उनले विगतमा बाटो नै नभएको ठाउँमा आफू वडा अध्यक्ष हुँदा पनि बाटो निर्माण लगायत यहाँका जनताको हितमा काम गरेको जानकारी दिए । सांसद थापाले नैचालको गोम्बोडाँडामा प्रतिस्थापन भएको बुद्धको मूर्तिलाई व्यवस्थापन गर्न र गुम्बा निर्माण गर्न आर्थिक सहयोग समेत प्रदान गरेका थिए । उनले नगद रु २५ हजार पाँच सय २५ रुपैयाँ सहयोग गरेको जानकारी दिदै प्रदेश सरकारलाई यहाँको विकासका निम्ति सधै घच्घचाइ रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले सूर्यविनायक नगरपालिकाबाट पाँचलाख बजेटको व्यवस्थापन भइसकेको जानकारी दिदै स्थानीय उत्पादनलाई बढावा दिन सहभागि सबैमा अपिल गरे ।
उक्त बुद्धको मूर्ति भक्तपुर नगरपालिका वडा नं ७ इनाचोस्थित मुनि बिहारको सक्रियतामा थाइल्याण्डबाट सहयोग प्राप्त भएको हो । मूर्ति थेरवादी परम्परा अनुसार अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष फ्रा खु विशाल धम्मशोभन महास्थविर भन्तेले हस्तान्तर तथा प्रतिस्थापन गरेका हुन ।
कार्यक्रममा स्थानीय, विभिन्न क्षेत्रका प्रतिनिधिहरु र जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । मूर्ति बाजागाजा सहित प्रतिस्थापन गरिएको हो । यो पक्षेत्र पर्यटकीय क्षेत्र भएकाले पनि धार्मिक तथा पर्यटकीय हव बन्ने स्थानीयको भनाई छ ।

