भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता

बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता

मुख्य बुँदा

बाढीले पैयुँ र बगरका ३५ घर बगायो ।

सल्लेरी, जगत्, घट्टेखोला र माछिखोलामा ठूलो क्षति ।

दोभानको बेलीब्रिज र केरौंजा जाने झोलुङ्गे पुल बगायो ।

बाढीको जोखिमपछि आरुघाट बजार खाली ।

नदी तटीय बासिन्दालाई सुरक्षित स्थानमा जान प्रहरीको आग्रह ।

गोरखा, २५ असोज । गोरखाको चुमनुब्री गाउँपालिका–६ मा पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि आएको भीषण बाढीले तटीय बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले पैयुँ र बगर गाउँका ३५ घर बगाएको छ भने सल्लेरी, जगत्, घट्टेखोला र माछिखोला क्षेत्रमा व्यापक क्षति भएको छ ।

आइतबार बिहान नदी थुनिएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । बिहान ६ः१५ बजेदेखि पानी बग्न थालेपछि बाढी आएको प्रहरीले जनाएको छ । बाढीले घट्टेखोलास्थित विकास प्राथमिक विद्यालयको भवनसमेत बगाएको छ ।

बाढीले दोभानको बेलीब्रिज, केरौंजा जाने झोलुङ्गे पुल तथा सोती बजारका केही संरचनामा क्षति पुर्‍याएको छ । बाढी आरुघाट बजारसम्म पुगेपछि जोखिमलाई ध्यानमा राख्दै बजार खाली गराइएको छ । प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ ।

बाढीको जोखिम सिर्दिबास, धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछिखोला, सोती, आर्खेत तथा आरुघाटसम्म फैलिएको छ । प्रहरीले त्रिशूली दोभानसम्म नदी किनारमा नजान र उच्च स्थानमा सुरक्षित बस्न आग्रह गरेको छ । उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको छ ।

गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार, राहत तथा प्रभावितलाई सुरक्षित स्थानमा सार्न परिचालन गरिएको जानकारी दिनुभएको छ । बुढीगण्डकी नदीमा पानीको बहाव बढ्ने र नदी पुनः थुनिने क्रमसमेत देखिएको स्थानीय अधिकारीहरूले बताएका छन् । बाढीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.