भक्तपुर दरबार क्षेत्रमा नेपाली वास्तुविद् समाजको ३६औँ वार्षिक महोत्सवअन्तर्गत वास्तुकला प्रदर्शनी ।
मौलिक वास्तुकला, ऐतिहासिक सम्पदा र परम्परागत बस्तीसम्बन्धी सामग्री प्रदर्शन ।
भक्तपुर नगरपालिकाले हालसम्म १८५ वटा सम्पदाको पुनर्निर्माण गरेको प्रमुख सुनिल प्रजापतिको भनाइ ।
ख्वप इन्जिनियरिङ कलेजमा वास्तुकलाको अध्ययन–अध्यापनमार्फत नयाँ पुस्तालाई सम्पदा संरक्षणसम्बन्धी ज्ञान ।
परम्परागत वास्तुकला र सांस्कृतिक पहिचान संरक्षणमा जोड ।
भक्तपुर, २४ असोज । भक्तपुर दरबार क्षेत्रमा नेपाली मौलिक वास्तुकला, ऐतिहासिक सम्पदा र परम्परागत बस्तीको महत्त्व उजागर गर्ने उद्देश्यले सार्वजनिक वास्तुकला प्रदर्शनी आयोजना गरिएको छ ।
नेपाली वास्तुविद् समाजको ३६औँ वार्षिक महोत्सवको अवसरमा आयोजित प्रदर्शनीमा नेपालका मौलिक वास्तुकला, ऐतिहासिक सम्पदा, विभिन्न जातजातिको पहिचान झल्काउने भौतिक संरचना तथा स्थानविशेषको महत्त्व बोकेका भवन र संरचनासम्बन्धी सामग्री प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरमा यस्तो प्रदर्शनी आयोजना हुनु महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले भक्तपुर इतिहास र संस्कृतिको जीवन्त पहिचान बोकेको सहर भएको उल्लेख गर्दै नगरपालिकाले ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिँदै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिका अनुसार भक्तपुर नगरपालिकाले ख्वप इन्जिनियरिङ कलेजमा वास्तुकला विषयको अध्ययन–अध्यापनको व्यवस्था गरी नयाँ पुस्तालाई मौलिक वास्तुकला र सम्पदा संरक्षणसम्बन्धी ज्ञान प्रदान गर्दै आएको छ ।
उहाँले २०७२ सालको भूकम्पबाट क्षति पुगेका ऐतिहासिक सम्पदाको मौलिक स्वरूप कायम राख्दै स्थानीय जनतासँग सहकार्य गरेर पुनर्निर्माण गरिएको जानकारी दिनुभयो । नगरपालिकाले हालसम्म १८५ वटा सम्पदाको पुनर्निर्माण गरेको उल्लेख गर्दै उहाँले सम्पदाको मौलिकता जोगाउनु भनेको भावी पुस्ताका लागि इतिहास र पहिचान सुरक्षित गर्नु पनि भएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख रजनी जोशीले वास्तुकला देशको इतिहास, संस्कृति र पहिचानसँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो । कलेज तथा विश्वविद्यालयमा सम्पदा र वास्तुकलासम्बन्धी अध्ययन–अध्यापनले संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुर्याउने उहाँको भनाइ थियो ।
आधुनिक र परम्परागत वास्तुकलाबीचको सम्बन्धबारे अध्ययन तथा अनुसन्धानले नेपाली सम्पदाको विशेषता र महत्त्व उजागर गर्न मद्दत पुग्ने उल्लेख गर्दै उहाँले भक्तपुर नगरपालिकाले ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन र पुनर्निर्माणमा गर्दै आएका कामबारे जानकारी दिनुभयो ।
नेपाली वास्तुविद् समाजका अध्यक्ष ईश्वरलाल जोशीले प्रदर्शनीको उद्देश्य र महत्त्वबारे प्रकाश पार्नुभयो । कार्यक्रममा भवन विभागका एकराज अधिकारी तथा सीएनईटीका अध्यक्ष कृष्ण सिंह बस्नेतले पनि वास्तुकला र सम्पदा संरक्षणका विषयमा धारणा राख्नुभएको थियो । अभिषेक बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रदर्शनीले नेपाली मौलिक वास्तुकलाको विविधता, ऐतिहासिक सम्पदाको महत्त्व तथा परम्परागत बस्ती र भवनहरूको संरक्षण आवश्यकताबारे सर्वसाधारणलाई जानकारी गराएको छ । साथै, नेपालको सांस्कृतिक पहिचान जोगाउन वास्तुकलाको भूमिका महत्त्वपूर्ण रहेको सन्देशसमेत दिएको छ ।
