दसैँ मनाउन उपत्यका छाड्नेको लर्को, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

दसैँ मनाउन उपत्यका छाड्नेको लर्को, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

काठमाडौँ, २८ असोज । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुको चाप बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाका विभिन्न नाकाबाट ५६ हजार ८०९ जना बाहिरिएका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्म उक्त सङ्ख्यामा यात्रु बाहिरिएका हुन् ।

उपत्यकाबाट बाहिरिनेमा नागढुङ्गा नाकाबाट सबैभन्दा धेरै २७ हजार ६४९ जना र भक्तपुर नाकाबाट २० हजार ६१५ जना रहेका छन् । त्यस्तै, फर्पिङबाट ५ हजार ५१०, तीनपिप्लेबाट ९७२, भट्टेडाँडाबाट ८८६, साँखुबाट ६०८, भीमढुङ्गाबाट ५१३ र थानकोटबाट ५६ जना बाहिरिएका छन् ।

दसैँ मनाउन गाउँ फर्किने यात्रुको सङ्ख्या बढेसँगै सार्वजनिक यातायात व्यवस्थापनमा चुनौती थपिएको यातायात व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार विभिन्न राष्ट्रिय राजमार्गमा भएको क्षतिका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न र उपत्यका फर्किन समस्या भएको छ ।

असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुलेकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएपछि सवारी आवागमन अवरुद्ध हुँदा धेरै बस काठमाडौँमै रोकिएको उहाँले बताउनुभयो । यसले यात्रु व्यवस्थापनमा थप समस्या पारेको उहाँको भनाइ छ ।

महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न तथा यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ । दसैँ मनाउन परिवार र आफन्तसँग भेटघाट गर्न राजधानीमा अध्ययन, रोजगारी तथा व्यवसायमा संलग्न मानिसहरू घर फर्किने क्रम बढेको छ ।

 


Thali Mobile Pvt.Ltd.