भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

च्याम्हासिंह क्षेत्रमा फलफूल तथा खाद्य पसलको व्यापक अनुगमन : अव्यवस्थित बिक्री र भ्याट छलीमा कडाइ

च्याम्हासिंह क्षेत्रमा फलफूल तथा खाद्य पसलको व्यापक अनुगमन : अव्यवस्थित बिक्री र भ्याट छलीमा कडाइ

भक्तपुर, २२ जेठ । भक्तपुर नगरपालिका अनुगमन समितिले च्याम्हासिंह क्षेत्रमा रहेका १० वटा फलफूल र खाद्य पसलहरूमा बजार अनुगमन गरेको छ। समितिका संयोजक राजकृष्ण गोरा नेतृत्वमा गरिएको यस अनुगमनमा विभिन्न किसिमका अनियमितता र नियम उल्लंघनहरू फेला परेका छन् जसले उपभोक्ता सुरक्षा र बजार व्यवस्थापनमा गम्भीर प्रश्न उठाएका छन्।

अनुगमनका क्रममा अनियमित रूपमा खरिद विक्रि बिल प्रयोग नगर्ने, भ्याट र राजश्व छली गर्ने, कुहिएको फलफूल बिक्री हुने लगायतका समस्या पुष्टि भएका छन्। यसले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले नगरपालिकाले यसलाई गम्भीरताका साथ लिएको छ।

राज स्यामाजी स्टोरमा विगत दुई-तीन वर्षदेखि दर्ता नविकरण नभएको, मूल्य सूची नराखिएको र तराजु नविकरण नगरेको पाइएपछि तीन दिनभित्र सबै प्रक्रिया पूरा गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। त्यस्तै, के.ओ.डि. स्टोरले पनि दर्ता नगरी कारोबार गर्दै आएको, भ्याट बिल प्रयोग नगरेको र खरिद विक्रि खाता नराखेको हुँदा राजश्व कार्यालयले जरिवाना लगाउने र कार्यालयमा उपस्थित हुन आदेश दिएको छ।

अनुगमनका क्रममा कुहिएको फलफूल र म्याद नाघेका सामानहरू पनि जफत गरिएको छ। म्यागी ससका ५ वटा ठूला र ७ वटा साना प्याकेट, ३ वटा मसरुम जफत गरी नष्ट गरिएको छ। मुकेश फलफूल पसलमा पनि दर्ता नविकरण नभएको, तराजु नापतौल विभागमा नविकरण नभएको र कुहिएको फलफूल जस्तै केरा, आँप, मेवा जफत गरी नष्ट गरिएको छ।

यस्तै, न्यू ब्रम्हायणी जुस एण्ड फ्रूट सेन्टरमा पनि कुहिएको केरा ४ दर्जन र आँप, मेवा १० केजि जफत गरी नष्ट गरिएको छ। सृष्टि फ्रूट सेन्टर, ख्वप फलफूल तथा जुस पसल लगायत अन्य पसलहरूमा पनि दर्ता नविकरण नहुँदा र कुहिएको फलफूल फेला परेपछि तीन दिनभित्र नविकरण गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमन समितिका सदस्यहरूमा वडा अध्यक्ष श्यामकृष्ण खत्री, वडा सदस्य ज्ञानबहादुर मानन्धर, रिता फसिकवा, भनपा श्यानिटेशका निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखा प्रमुख मोहनदेबी व्यान्जू, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक कमल कुमार श्रेष्ठ, राजश्व कार्यालय भक्तपुरका विकास कुमार यादव, भक्तपुर घरेलु तथा साना उद्योग संघकी सुमित्रा श्रेष्ठ, बाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुला, तथा भक्तपुर उद्योग बाणिज्य संघका राजु त्वानाबासु समावेश थिए।

अनुगमन समितिले फलफूल तथा खाद्य पसलहरूमा अबदेखि कडाइका साथ नियमको पालना गराउन, खरिद विक्रि बिल अनिवार्य प्रयोग गर्न, भ्याट तथा कर चुक्तिका लागि सही प्रक्रिया अपनाउन र उपभोक्ताको स्वास्थ्य सुरक्षामा कुनै प्रकारको सम्झौता नगर्न जोरदार निर्देशन दिएको छ।

पसलहरूले सहकार्य नगरे र नियम उल्लंघन गरे थप कानुनी कारबाही गरिने चेतावनी समितिले जारी गरेको छ। भक्तपुर नगरपालिका अनुसार यस्तो अनुगमनले उपभोक्ता हकहित र बजार पारदर्शितामा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

यस अनुगमनले काठमाडौं उपत्यकामा फलफूल र खाद्य पसलमा देखिएको अव्यवस्थित बिक्री र भ्याट छली जस्ता अनियमिततालाई नियन्त्रणमा ल्याउने दिशामा महत्वपूर्ण कदम भएको विशेषज्ञहरू बताउँछन्।

साथै, उपभोक्ताहरूलाई पनि सचेत र जिम्मेवार भएर आफूले किन्ने वस्तुको गुणस्तर, म्याद, तथा बिलको सुनिश्चितता गर्न आग्रह गरिएको छ। नगरपालिकाले भविष्यमा नियमित रूपमा यस्ता अनुगमन जारी राख्ने र उपभोक्ता संरक्षणलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.