काठमाडौँ, २ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै दुई किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको जिलिन प्रान्तका जियानह्वा वाङ रहेका छन् । उनी आज बिहान करिब १ः३० बजे १ किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार नेपाल वायु सेवा निगमको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका वाङलाई विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच क्षेत्र पार गरिसकेपछि नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । बरामद सुनसहित पक्राउ परेका वाङमाथि थप अनुसन्धान भइरहेको छ ।
