काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि जनमत पार्टीले कडा प्रतिक्रिया दिएको छ । पार्टीका अध्यक्ष सीके राउतले यो पक्राउलाई सरकारी प्रतिशोध भनी टिप्पणी गरेका छन् । राउतले भने, ‘ रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीति अलावा केही भन्न सक्दिनँ । यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो ।
यो पक्राउ राज्यद्वारा फ्रेमिङ्ग गरिएको हो । यसको सफल्तापूर्वक अन्त्य हुन्छ ।’ राज्यले चाहेमा हिँडिरहेको र सुतिरहेको मान्छेलाई पनि थुन्न सक्ने उल्लेख गरेका छन् । राउतले लामिछाने यो प्रकरणबाट सफलतापूर्वक बाहिर निस्किने विश्वास पनि व्यक्त गरे ।
यस्तो छ राउतको प्रतिक्रिया
हाम्रो धरातल र कैयन् एजेण्डा फरक होला, कतिपय ठाउँमा हामी विपरीत धारमा पनि उभिएका छौं, तर लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा हाम्रो मतैक्यता छ । आशा छ, रविजी यसबाट सफलतापूर्वक निस्किनु हुनेछ । पछिल्लो दशकमा सरकारद्वारा ऐन कानुनको दुरुपयोगबाट सर्वाधिक दमनको शिकार भएको मान्छे म – दुई दर्जनभन्दा बढीपटक हिरासत–जेल जानु परेको मान्छे म ।
यहाँको ऐन कानुन नै त्यस्तै छ कि राज्यले चाहेमा सडकमा हिँडिरहेको होस् कि घरमै सुतिरहेको जोसुकै, जस्तोसुकै निर्दोषलाई समातेर २५–५० दिन त अनुसन्धानको नाममा त्यस्तै हिरासतमा राखिदिन सक्छ र अदालतले पछि उनलाई जतिसुकै निर्दोष साबित गरे तापनि राज्यले कुनै माफी समेत माग्नु पर्दैन । त्यसकै दुरुपयोग राज्य चलाउनेहरूले, सरकारमा बस्ने पार्टी र शीर्षनेताहरूले गर्दै आएका छन् ।
उनीहरूले आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेहरूलाई तह लगाउन, आफ्नो पार्टीमा जबरजस्ती प्रवेश गराउन, अनुचित आर्थिक वसुली गर्न त्यसको प्रयोग हथियारको रूपमा गर्दै आएका छन् । एउटा निमुखा, गरिब आम मानिसको त हत्या हुँदासमेत प्रहरीले उजुरी दर्ता गर्न मान्दैन।
