कांग्रेस सूर्यविनायकले बुझायो नगर प्रमुखलाई ध्यानाकर्षणपत्र

कांग्रेस सूर्यविनायकले बुझायो नगर प्रमुखलाई ध्यानाकर्षणपत्र image

भक्तपुर । नेपाली कांग्रेस सूर्यविनायक नगर समिति भक्तपुरले सूर्यविनायक नगरपालिकालाई गम्भीर ध्यानाकर्षणपत्र बुझाएको छ । मंगलबार पार्टीका नगर अध्यक्ष निशान ढुंगेलले नगर प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् । नगर पार्टी कार्यालय कटुञ्जेमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको थियो ।

ध्यानकर्षणपत्र
मितिः २०८१ असार ४ गते
श्रीमान नगरप्रमुख ज्यु,
सुर्यविनायक नगरपालिका कार्यालय
कटुन्जे, भक्तपुर ।

विषयः गम्भीर ध्यानाकर्षण पत्र ।

उपरोक्त विषयमा २०८९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन बाट निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायत सम्पुर्ण निर्वाचित जनप्रतिनिधि ज्यु हरुलाई आफ्नो कार्यकालको दुई वष पुरा गर्नु भएकोमा नेपाली कांग्रेस सुर्यविनायक नगर कार्यसमिति हार्दिक बधाई ज्ञापन गर्दै बाँकी कार्यकालको सफलताको कामना गर्दछु ।
हामीले हाम्रो नगर कस्तो बनाउने भन्ने कुरा हाम्रो विकास नीति, राजनैतिक दलहरुसँगको सहकार्य, उपलब्ध साधनस्रोतको उच्चतम परिचालन, व्यापक जनसहभागिता जस्ता कुराहरुमा निर्भर रहन्छ । नेपाली कांग्रेस सुर्यविनायक नगर कार्य समितिले नगरपालिकाले गरेका कार्यहरु र लिएका नीतिहरुप्रति मिहिन ढंगले विश्लेषण गरिरहेको छ । हामी विकासका प्राथमिकता स्रोतको प्रभावकारी परिचालन तथा सु–साशनका सम्बन्धमा सधै नगरपालिका गम्भीर बनोस् भन्ने चाहन्छौ । जन अपेक्षा र जनसरोकारका महत्वपूर्ण विषयमा नगरपालिकाले अझै पर्याप्त ध्यान पुग्न सकेको छैन । त्यस प्रति सचेत गराउँदै विगतमा हामीले दिएका सल्लाह सुझावका आधारमा नगरपालिकाबाट भएका राम्रा कामहरुको प्रशंसा समेत गर्दछौँ ।
यसै सन्दर्भमा नगरपालिकाबाट भएका भु–वर्गीकरण नीति, नेपाल रेडक्रस सोसाइटी भक्तपुर सँगको सहकार्यमा नगरबासीलाई निःशुल्क रगत उपलब्धताको व्यवस्था, निःशुल्क शव वहान सेवा, हनुमन्ते करिडोरमा नक्सापासको व्यवस्था नगर क्षेत्रको विद्यालयहरुमा प्रतिस्पर्धाद्धारा प्रधानाध्यापकको छनौट, शिव सर्किट निर्माण, लाकुरी भञ्याङ्ग देखि साँगा सम्म पर्यटन मार्ग घोषणा, मेलम्चीको पानीलाई सुर्यविनायक नगरपालिकाका थप वडाहरुमा उपलब्ध गराउने प्रयास प्रशंसनीय छ ।
सुर्यविनायक नगर कार्यसमितिले विगतमा पनि नगरपालिकाको नीति तथा कार्यक्रम एवं बजेट निर्माणका चरणमा जनसरोकारका विभिन्न पक्ष समेट्नका लागि बुँदागत रुपमा ध्यानाकर्षण र स्मरण पत्र प्रस्तुत गरेका थियौँ तर हाम्रा पुरा नभएका ती बुँदाहरुप्रति पुनः गम्भीर ध्यानाकर्षण गराउँदै आ.व.२०८१।०८२ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नका लागि हाम्रो दृष्टिकोण पेश गरेका छौं ।

हाम्रा दृष्टिकोणहरुः

१. शिक्षा
– नगर क्षेत्रका सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार विकासलाई बालमैत्री र अपाङ्गमैत्री रुपमा विकास गरियोस् ।
– सबै विद्यालयहरुमा प्रविधियुक्त शिक्षण विधि लागु गरियोस् ।
– व्यावसायिक तथा प्राविधिक शिक्षा व्यवहारमा उतारियोस् ।
– स्थानीय कला, संस्कृति, सीप, नैतिक शिक्षा, व्यवहारिक ज्ञान सहितको विषयगत पाठ्यक्रम लागु गरियोस् ।
– संस्थागत विद्यालयहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्दै व्यवस्थित गरियोस् ।
– संस्थागत विद्यालयबाट नगरपालिकालाई उपलब्ध–गराउने छात्रवृत्तिलाई कडाइकासाथ लागु गरियोस र सो कार्यलाई पारदर्शी बनाइयोस् ।
– शिक्षकहरुको सरुवा, बढुवा तथा सेवा सुविधा–प्रदान गर्ने कार्यमा कुनै राजनैतिक पूर्वाग्रह नराखियोस् ।

२. स्वास्थ्य
– प्रत्येक वडामा न्युनतम स्तरीय प्रयोगशाला सहित पाँच बेडको अस्पताल सञ्चालनमा ल्याई नगर अस्पतालको चापभार कम गर्ने प्रबन्ध गरियोस् ।
– नगरका आवश्यक स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गरियोस् ।
– नगरको फोहोर व्यवस्थापनलाई व्यवस्थित गरियोस् ।
–महंगो फोहोर व्यवस्थापन शुल्क तत्काल घटाइयोस ।
– सुर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गरियोस् ।
– यस नगरपालिकाले स्वास्थ्य बिमा गर्दा रु १०००।– को प्रत्येक विमामा सहयोग गरिदिएको परिपक्षेमा यो कार्यलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्थापन गरियोस् ।

३. स्वच्छ पिउने पानी÷ढल निकास
– खानेपानी समस्या देखिएका क्षेत्रहरुमा तत्काल सफा, स्वच्छ खानेपानी व्यवस्था गरियोस् ।
– नगरक्षेत्रका खानेपानी उपभोक्ता समितिको अनुगमन गरी मुल्याङ्कन गर्ने पद्धती बसालियोस्
– ढल व्यवस्थापन गर्न सकिने स्थानहरुमा ढलको प्रबन्ध गरियोस् ।
– सुर्यविनायक न.पा भित्रको प्राकृतिक श्रोतको पहिचान गरी आत्मनिर्भर हुन सु.न.पा.वडा नं. ८ सिपाडोल स्थित आशापुरी लगायत क्षेत्रको मूलको पानी संकलन गरी सुर्यविनायक नगरबासीहरुमा यथासम्भव पानी वितरणको व्यवस्थापन गरियोस् ।

४. पर्यटन
– नगरको समृद्धि र दिर्घकालीन निरन्तर आयस्रोतको सम्भावना बाकेको पर्यटन क्षेत्रको विकासका लागि शिव सर्किट तथा पर्यटन पदमार्गको व्यापक प्रचार प्रसार एवम् आवश्यक पुर्वाधार निर्माण गरियोस् ।
– लाकुरी भञ्ज्याङ् देखि साँगा सम्मको क्षेत्रलाई पर्यटन पदमार्ग सँगसँगै पर्याय पर्यटन क्षेत्रको रुपमा विकास गर्न न्युनतम पुर्वाधार विकास सहित निजी क्षेत्रको सहभागितामा विभिन्न स्थानहरुमा योग, ध्यान, रिक्रियशन सेन्टरको रुपमा विकास गरियोस् ।
– सु.न.पा.४ मा निर्मित भ्यू टावर को सही सदुपयोग गर्न त्यस्ता स्थानहरुलाई निजी क्षेत्र आकर्षित हुने गरी दीर्घकालिन लिज पद्धती जान आवश्यक निति निर्माण होस् ।
– स्थानीय कला, संस्कृति, जात्रा, पर्व, मठ मन्दीर, बाजागाजा संरक्षण, सम्बर्धन तथा प्रवद्र्धनका लागि विशेष ध्यान दिइयोस् ।
– आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पर्यटन सुचना केन्द्र, डिजिटल सूचना प्रविधि प्रारम्भ गरियोस् ।
– समय समयमा नगरभित्र मेला, महोत्सव, भ्रमण वर्ष, खाना महोत्सव, स्थानीय कला संस्कृति प्रदर्शनी जस्ता गतिविधि मार्फत पर्यटक आकर्षित गरियोस् ।

५. कृषि
– कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणका लागि नगरपालिकाले प्रभावकारी कृषि नीति लागु गरियोस् । जस अन्तर्गत किसानहरुका लागि समयमै मलको उपलब्धता, उन्नत जातका बीउ वितरणको प्रबन्ध, बाली बीमामा अनुदानको व्यवस्था गरियोस् ।
– नगदेवाली, पुष्पखेती, पशुपंक्षी पालन गरिरहेका किसानहरुका लागि उत्प्रेरित गर्ने प्रकृतिको कार्यक्रम ल्याइयोस् ।
– कौशी खेतीलाई प्रोत्साहन तथा हाइडा्रैपोनिक कृषि पानीको सहयोगले पाइपमा तरकारी उत्पादन गर्ने विधिको प्रयोगको प्रारम्भ गरियोस् ।
– कृषिमा युवा वर्गको आकर्षण बढाउन अनुदान तथा सहुलियत कर्जाको लागि पहल गरियोस् ।
– कृषि बजारीकरणका लागि नगरपालिकाको कम्तीमा दुई स्थानमा कृषि वस्तु बेचबिखन गर्न कृषि चोक बजारको निर्माण प्रारम्भ गरियोस् ।

६. उद्योग व्यापार र अर्थतन्त्र
– नगर क्षेत्रभित्र व्यवसाय गरिरहेका उद्योगी व्यवसायीहरु पहिचान गरी सबैलाई नगरपालिका दर्ता अभियान सञ्चालन गरियोस् ।
– प्रस्तावित नगर औद्योगिक ग्रामको यथाशिघ्र निर्माण तथा सञ्चालन गरियोस् ।
– नवप्रवर्तन गर्न चाहने युवाहरु लाई आवश्यक तालिम सहित परियोजनाका आधारमा सहुलियतपुर्ण ऋण प्रदान गरियोस् ।
– नगर क्षेत्रभित्र उद्यम व्यवसाय गरी नियमित राजश्व तिर्ने उत्कृष्ठ करदाता तथा उत्कृष्ठ रोजगारदाताहरुलाई वार्षिक रुपमा सम्मान गरियोस् ।

७. पुर्वाधार विकास
– नगर क्षेत्रभित्र निर्माण शुरु गरी सम्पन्न हुन नसकेका सडक, पुल, पुलेसा, विद्युत , खानेपानी लगायतका पुर्वाधारका कामहरु अविलम्बन सम्पन्न गरियोस ।
– नगरको वडा नंं. १ र ४ मा पर्ने चरखण्डी खोला लगायत अन्य खोला तथा खोल्सीहरुको उचित मापदण्ड कायम गरी करिडोेर निर्माण गरियोस् ।
– नगरको शहरी, भौतिक, पर्यटकीय, कृषी, औद्योगिक क्षेत्रको एकीकृत पुर्वाधार योजना अन्तर्गत विकास गरियोस् ।
– यस नगरका सम्पूर्ण वडाहरुलाई समेट्ने गरी नगर रुट कायम गरी नगर बस सेवा सञ्चालन गर्न प्रबन्ध मिलाइयोस् ।

८. सहरीकरण
– नीजि क्षेत्रले जग्गा प्लटिङ् गर्दा सार्वजनिक जग्गा अतिक्रमण नहुने व्यवस्था गरियोस् ।
– सार्वजनिक जग्गा संरक्षण योजना तयार गरियोस ।
– हनुमन्ते लगायत सबै नदी किनारहरुमा जग्गा नक्सा पास गर्दा न्यायपूर्ण मापदण्ड निर्धारण गरियोस् ।

९. वातावरण संरक्षण

– नगर क्षेत्रभित्र रहेका सामुदायिक वन निजी वन र धार्मिक वन को संरक्षणका लागि जनचेतना, सतर्कता तथा डढेलो नियन्त्रणका लागि पुर्व तयारी योजना बनाइयोस् ।
– नगर क्षेत्रका पानीका मुहानहरुको संरक्षण गरियोस् ।
– राष्ट्रिय प्राणी उद्यान यथाशीघ्र पुरा गर्न सम्बन्धित निकायमा पहल गरियोस् ।
– गणेशमान बाटिका क्षेत्र आध्यात्मिक तथा पर्याय पर्यटनसँग पनि सम्बन्धित भएका कारण सो क्षेत्रको विकास र संरक्षणमा नगरपालिकाले अपनत्व प्रदर्शन गरोस् ।

१०. सु–शासन र पारदर्शिता
– नगरपालिकाबाट प्रदान गरिने सेवा–सुविधा छिटो, छरितो र प्रविधिमैत्री होस् ।
– उपभोक्ता समिति गठनको सम्बन्धमा व्यापक जनगुनासो रहेकोले सरोकारवाला समुह सम्बन्धित क्षेत्रका उपभोक्ताहरुको व्यापक भेला गरी वास्तविक उपभोक्ताको समिति बनाइयोस् ।
– नगरपालिकाद्धारा प्रदान गरिएको सेवा सुविधा र जनसरोकारका विषयमा समय–समयमा सार्वजनिक सुनुवाई गरियोस् ।
– अनुगमन तथा मुल्याङ्कन पद्धती वैज्ञानिक होस् ।

११. कर तथा राजस्व प्रशासन
– कर, करले होइन रहरले तिर्ने मैत्रीपुर्ण कर प्रसाशन नीति लागु गरियोस । करका दर होइन दायरा बढाइयोस् ।
– हाल नगरपालिकाले लगाउदै आएका केही क्षेत्रका करका दरहरु छिमेकी अन्य नगर पालिकाको तुलनामा बढी देखिएको हुदा अन्य सँग मेल खाने गरी पुनविचार गरियोस् ।

१२. नगर गौरव÷वडा गौरव योजना
– आगामी ३ वर्षलाई लक्षित गरी नगर भित्रका बुद्धिजिवि, योजनावृद, समाजसेवी, सम्पुर्ण राजनैतिक दलको व्यापक सहभागितामा वडा तथा नगर गौरवका योजना पहिचान गरी कार्यान्वयन गरियोस् ।

१३. सहकारी
– राष्ट्रिय रुपमा बढ्दो सहकारी समस्यालाई समाधान गर्नको लागि कार्ययोजना सहितको अनुगमन निरिक्षण गरी बचतकर्ताको बचत रकम संरक्षण, सुरक्षित गर्न आवश्यक प्रवन्ध गर्ने ।
– सहकारी सिद्धान्त मर्म र भावना विपरित कार्य गरिने सहकारीहरुलाई कारवाही गरियोस् ।
– बचतकर्ताले अत्यन्त मिहिनेत÷परिश्रम गरी आफ्नो उपयोगलाई समेत कटौटी गरी जम्मा गरेकोे बचत सञ्चालकहरुको दुर्नियतका कारण बचतकर्ताले फिर्ता पाउन सकेका छ्रैनन् । त्यस्ता केही संकतग्रस्ट सहकारीहरुबाट बचतकर्ताको बचत फिर्ता गर्न विशेष ध्यान दिइयोस् ।

१४. विविध
– नगरपालिकाले विकास योजना तयार गर्दा प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापन गर्दै दीगो विकास लक्ष्य समेतलाई ध्यानमा राख्दै उपलब्ध स्रोत र साधनको उच्चतम उपयोग गर्ने नीति लिइयोस् ।
– विकास योजना कार्यान्वयन गर्दा अधिकतम सहमति न्युनतम क्षतिको नीति अबलम्बन गरियोस् ।
– जनप्रतिनिधि जनताका सेवक हुन साशक होइनन् भन्ने मान्यतालाई आम नगरवासीले अनुभव गर्ने गरी व्यवहारमा उतारियोस् ।
– अपाङ्ग वालवालिका, एकल महिला, विपन्न वर्ग समुदाय लगायत उत्थान गर्नको लागि कार्य योजना सहित आवश्यक व्यवस्थापन गरियोस् ।

सहयोगको अपेक्षा सहित धन्यवाद, जयनेपाल
निशान ढुंगेल
(सभापति)

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.