कञ्चनपुर, ५ असार । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाकाहरू हुँदै फर्किने व्यक्तिहरूमा कोरोना भाइरसको जोखिम अझै कायमै देखिएको छ। बर्दियाका एक व्यक्ति भारतको हल्द्वानीबाट गड्डाचौकी सीमानाका हुँदै नेपाल फर्किएपछि गरिएको एन्टिजेन परीक्षणमा कोरोना ‘पोजेटिभ’ देखिएको हो। ती बिरामीलाई हाल महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ।
सुदूरपश्चिम प्रदेश प्रादेशिक आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार, ती व्यक्तिमा उच्च ज्वरो, श्वासप्रश्वास र रुघाखोकीको समस्या देखिएपछि हेल्थ डेस्कमा परीक्षण गरिएको थियो। भारतबाट फर्केका पाँच शंकास्पद व्यक्तिमध्ये एक जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो समय सीमावर्ती नाकाहरू हुँदै नेपाल फर्कनेहरूमा कोरोना संक्रमण देखिन थालेको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।
सावधानी अपनाउन आग्रह
डाक्टरहरूका अनुसार, संक्रमणको जोखिम अझै कायम रहेकाले भारतबाट फर्किने सबैले मास्क, स्यानिटाइजरको प्रयोग, सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने सुझाव दिएका छन्। संक्रमण देखिएका व्यक्तिहरूले इमान्दारिपूर्वक क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्नेछ, ताकि समुदायस्तरमा संक्रमण फैलन नदिइयोस्।
पाँचवटा सीमावर्ती नाकामा हेल्थ डेस्क सञ्चालन
हाल कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा र खकरौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाकामा हेल्थ डेस्कमार्फत शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण भइरहेको छ।
गएको जेठ २१ देखि अहिलेसम्म सीमानाका हुँदै फर्किएका २३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये १६ जना निको भइसकेका छन् भने ७ जना होम आइसोलेसनमा उपचाररत छन्।
