भर्खरै : Sorry, your browser does not support inline SVG.
३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले |

‘दल दर्तासँगै देश चुनावमय भयो, हिंसात्मक गतिविधिमा कसैलाई छुट छैन’ : गृहमन्त्री अर्याल

‘दल दर्तासँगै देश चुनावमय भयो, हिंसात्मक गतिविधिमा कसैलाई छुट छैन’ : गृहमन्त्री अर्याल

काठमाडौँ, ११ मंसिर । प्रतिनिधिसभा चुनाव आउन ९९ दिन मात्र बाँकी रहेको अवस्थामा प्रमुख राजनीतिक दलहरूले निर्वाचनका लागि दल दर्ता गराएसँगै देश चुनावमय बन्दै गएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् ।

देश निर्वाचन प्रक्रियामा प्रवेशसँगै द्वन्द्व, अस्थिरता वा अराजनीतिक क्रियाकलाप दोहोरिने आशंका स्वाभाविक भए पनि अब राजनीतिक गतिविधि नै मुख्य धारा बन्ने बताएका छन् ।नेकपा एमालेसहित सबै मुख्य दलले निर्वाचनमा सहभागी हुने संकेत दिएकाले निर्वाचनप्रति सरकारको भरोसा थप मजबुत भएको जिकिर गरे । साथै राष्ट्रिय सभाका १९ सिटमा पनि चुनाव नजिकिँदै गर्दा देशको राजनीति पूर्ण रूपमा चुनावी गतिमा गएकाे उनले बताए । अर्यालले भने, “दल दर्ताले नै देखाइसक्यो कि अब सबैजसो राजनीतिक शक्तिहरू चुनावमै जानेछन् । माहोल चुनावमय बन्दै जाँदा अराजनीतिक गतिविधि स्वभाविक रूपमा घट्दै राजनीतिक प्रक्रिया अघि बढ्छ ।”

त्यसैक्रममा गृहमन्त्री अर्यालले सुरक्षाको चिन्ता स्वाभाविक भए पनि सरकारले सबै दललाई समान अवसर दिने र पूर्ण सुरक्षा सुनिश्चित गर्ने बताए । उनले स्पष्ट शब्दमा भने, “नयाँ, पुराना, जेनजी, नन-जेनजी सबैलाई एउटै नियम लाग्छ । कसैलाई पनि हिंसात्मक गतिविधिमा लाग्ने छुट छैन ।”

अहिले कैदीबन्दी फर्किन थालेको, हतियार रिकभरीको अवस्था राम्रो बन्दै गएको र बढी घातक हतियारको संख्या निकै कम रहेको उनले बताए ।

कतिपय दलहरूले जेनजी आन्दोलनकारी समूह म्यादी भर्नामा प्रवेश गर्न सक्ने आशंका व्यक्त गरे पनि मन्त्री अर्यालले यसलाई “अति आशंका” भन्दै नकारे । उनले भने, “हामीले त्यस्तो सोचेकै छैन । समस्या भयो भने त्यसबेला हेर्ने पक्षमा सरकार छ ।”

त्यसैगरी व्यवसायी दुर्गा प्रसाईंले सुरक्षा निकायमाथि चुनौतीपूर्ण भाषा प्रयोग गरेको विषयमा पनि उनले मध्यम राजनीतिक जवाफ दिए । “उहाँ वार्तामा आउनुभएको छ, हिंसा नचाहने सार्वजनिक अभिव्यक्ति दिनुभएको छ । त्यसैले पछिल्लो सकारात्मक स्टेटमेन्टमै सरकार आधारित छ,” उनले भने ।

मतदाता नामावली अद्यावधिक अध्यादेशबाट ठूलो संख्यामा नयाँ मतदाता, विशेषगरी जेनजी पुस्ताका नागरिक थपिएको उनले जानकारी दिए । विदेशबाटै भोट हाल्न पाउने र आफ्नो क्षेत्रबाहिरबाट मतदान गर्ने कानुनसम्बन्धी प्रावधान अहिले कानुन मन्त्रालयमा रहेको जानकारी दिए । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश रोकिनुको कारणबारे भने उनले भने, “यो असाधारण समयको असाधारण चुनाव हो । केही नयाँ पहल गर्नचाहेर अध्यादेश सिफारिस गरिएको हो ।”

 


Thali Mobile Pvt.Ltd.