भर्खरै : Sorry, your browser does not support inline SVG.

दमकमा जेन–जी आन्दोलनः भिड नियन्त्रणका लागि प्रहरीले गोली चलायो

दमकमा जेन–जी आन्दोलनः भिड नियन्त्रणका लागि प्रहरीले गोली चलायो

मुख्य बुँदा

झापाको दमकमा ‘जेन–जी’ आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा प्रकाश भट्टराई घाइते।

प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको पुत्ला दहन र नगरपालिका गेटमा तोडफोड प्रयास गरेपछि स्थिति तनावग्रस्त।

भिड नियन्त्रणका लागि प्रहरीले हवाई फायर तथा गोली चलाएको, मोटरसाइकल र CCTV तोडफोड।

काठमाडौँमा जेनजीको प्रदर्शनपछि कर्फ्यु जारी, सेना परिचालन।

विराटनगर २२ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा ‘जेन–जी’ पुस्ताले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। प्रदर्शन चर्किँदै गएपछि भिड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको हो।

दमक चोकबाट जुलुससहित दमक नगरपालिका अगाडि पुगेका प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्नुका साथै नगरपालिकाको गेट तोडफोड गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो। स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा झापाको कमल–५ निवासी प्रकाश भट्टराई घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको र हाल दमक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

प्रहरीले दिएको जानकारीअनुसार प्रदर्शनकारीले नगरपालिका परिसरमा रहेका केही मोटरसाइकलमा आगजनी गर्नुका साथै सीसी क्यामेरासमेत तोडफोड गरेका थिए। झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूका अनुसार भिड नियन्त्रणबाहिर गएपछि हवाई फायर गरिएको र थप सुरक्षा टोली घटनास्थलतर्फ पठाइएको छ।

साथै काठमाडौँमा पनि ‘जेन–जी’ प्रदर्शनका कारण कर्फ्यु जारी गरिएको छ। नयाँ बानेश्वर क्षेत्रमा सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको र सेना परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिएका छन्।

जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल, बिजुली बजार, मिन भवन, शान्तिनगर, तीनकुने चोक, आइप्लेक्स मल, रत्नराज्य माध्यमिक विद्यालय, शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.