काठमाडौँ, २८ असाेज । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस गाउँ फर्किन थालेपछि उपत्यकाका विभिन्न नाकामा यात्रुको चहलपहल बढेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार मङ्गलबार बिहानदेखि बुधबार बिहानसम्मको २४ घण्टामा ७८ हजार १३८ यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।
घटस्थापना सुरु भएदेखि हालसम्म सार्वजनिक सवारीसाधनमार्फत एक लाख ८७ हजार ७७४ यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार असोज २५ गते ५२ हजार ८२७ र असोज २६ गते ५६ हजार ८०९ यात्रु बाहिरिएका थिए ।
दसैँ मनाउन यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती तथा ललितपुरको भट्टेडाँडालगायतका नाका हुँदै बाहिरिरहेका छन् । घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवस्थापनमा पनि चुनौती थपिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडकको अवस्थाका कारण सवारीसाधन व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो ।
विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिएका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न तथा काठमाडौँ फर्किन कठिनाइ भइरहेको उहाँको भनाइ छ । असोज २३ गते अग्रिम टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएका थिए । त्यसले समेत सवारी व्यवस्थापनमा समस्या थपेको व्यवसायीले बताएका छन् ।
यसैबीच, दसैँका लागि हालसम्म एक लाख ३० हजार १२९ यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते संयुक्त रूपमा ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३ यात्रुले अग्रिम टिकट लिएका हुन् ।
यातायात व्यवसायी महासङ्घले यात्रुलाई अग्रिम टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न तथा यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ । दसैँमा परिवार र आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन राजधानीमा बसोबास गर्दै आएका मानिस गाउँ फर्किने क्रम बढेसँगै आगामी दिनमा पनि सार्वजनिक यातायातमा यात्रुको चाप थप बढ्ने अपेक्षा गरिएको छ ।
