उदयपुर, २८ असाेज । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका–१२ पुरानो गाईघाटस्थित ज्योतिनगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले जानकारी दिनुभयो ।प्रहरीका अनुसार मृतक चौधरीको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ ।
