सीमापारि किनमेल घट्दा नेपालगञ्जका पसलमा बढ्यो चहलपहल

सीमापारि किनमेल घट्दा नेपालगञ्जका पसलमा बढ्यो चहलपहल

नेपालगञ्ज, २७ असाेज । बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकामा जाँचमा कडाइ र भन्सारसम्बन्धी नियमका कारण यस वर्ष दसैँको किनमेलका लागि भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या घटेको छ । सीमापारि ग्राहकको चहलपहल कम हुँदा नेपालगञ्जका सपिङ मल तथा सुपर स्टोरमा भने उपभोक्ताको आकर्षण बढेको छ ।

विगतका वर्षमा दसैँ र तिहार नजिकिँदै गर्दा रुपैडिहा बजारमा नेपाली उपभोक्ताको ठूलो भीड लाग्ने गरेको थियो । नयाँ लुगा तथा घरायसी उपभोग्य सामग्री खरिद गर्न दैनिक ठूलो सङ्ख्यामा नेपाली जमुनाह नाका हुँदै भारतीय बजार पुग्ने गर्थे । यस वर्ष भने रुपैडिहाका पसलमा नेपाली ग्राहकको उपस्थिति पातलिएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार सीमापारी किनमेल गर्ने उपभोक्ता घट्नुमा नाकामा गरिएको कडाइ र भन्सारसम्बन्धी नियम प्रमुख कारण हुन् । गत वैशाखदेखि रु. १०० भन्दा बढी मूल्यका सामान बिनाभन्सार नेपाल ल्याउन रोक लगाइएकोमा हाल उक्त सीमा बढाएर रु. ५०० पुर्‍याइएको छ ।

नेपालगञ्ज–२१ पुरैनाकी सिर्जना थापाले दुवैतर्फ जाँच गर्नुपर्ने र लामो समय लाइनमा बस्नुपर्ने भएकाले रुपैडिहा जाने उपभोक्ता घटेको बताइन् । रु. ५०० भन्दा बढी मूल्यका सामान भन्सार जाँच गराउनुपर्ने व्यवस्थाले पनि उपभोक्तालाई सीमापारि किनमेल गर्न निरुत्साहित गरेको उनको भनाइ छ ।

सीमापारि जाने ग्राहक घटेसँगै नेपालगञ्जका भाटभटेनी, वेस्टर्न मार्टलगायतका सुपर स्टोरमा उपभोक्ताको आकर्षण बढेको उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बताए । उनले नेपाली बजारमै किनमेल गर्ने वातावरण बनाउन व्यापारी तथा उद्योग वाणिज्य सङ्घले पहल गर्नुपर्नेमा जोड दिए । चाडपर्वका बेला हुने कृत्रिम मूल्यवृद्धि र वस्तुको अभाव रोक्न बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीका अनुसार सीमापारि किनमेल गर्ने उपभोक्ताको सङ्ख्या घटे पनि स्थानीय बजारमा खरिदारी सोही अनुपातमा बढेको छैन । उनका अनुसार विगतको तुलनामा तस्करी घटेको अनुमान छ । यद्यपि, मुख्य नाकामा कडाइ गरिए पनि खुला सीमाका कारण भित्री नाकाबाट हुन सक्ने तस्करी रोक्न निगरानी बढाउन आवश्यक रहेको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.