भक्तपुर । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी भक्तपुर नगरपालिकाको सम्पदा संरक्षण र पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगिसकेको बताउनुभएको छ । काठमाडौं उपत्यका विश्व सम्पदा स्थलको संरक्षण एवम् व्यवस्थापनको लागि गठन गरिएको ‘समन्वय कार्य समिति’को सोमबार बसेको बैठकमा उहाँले उक्त कुरा बताउनुभएको हो ।
सी. डब्लु. सीका संयोजक पुरातत्व विभाग, सम्पदा संरक्षण शाखाका प्रमुख रमेशराज पौडेलको संयोजकत्वमा बसेको उक्त बैठकमा युनेस्कोमा संरक्षणको अवस्थाको रिपोर्ट पठाउने र भक्तपुर दरबार क्षेत्रस्थित सिंहध्वाका दरबारको संरक्षण सम्बन्धमा भएको प्रगतिबारे छलफल भएको हो । उपप्रमुख जोशीले उपत्यका स्थित विश्व सम्पदामा सूचिकृत काठमाडौं, भक्तपुर र ललितपुरको दरबार क्षेत्र, चाँगुनारायण, स्वयम्भूजस्ता सम्पदाहरु नेपालका साँस्कृतिक धरोहरहरुको रुपमा रहेको जानकारी दिनुभयो ।
भक्तपुर नपा वडा नं. ९ दत्तात्रयस्थित विश्वप्रसिद्ध मयुर झ्याल रहेको ऐतिहासिक पुजारी मठ पुनःनिर्माणको क्रममा साबिकमा माटो जोडाइको भवन रहेकोले सोही अनुसार सम्पदाको मर्मबमोजिम माटो जोडाइबाट नै पुनःनिर्माण गर्नुपर्नेमा चुना सुर्की प्रयोग गरी पुनःनिर्माण गरिएको हुँदा हाल उक्त पुनःनिर्माण कार्य रोकिएको बताउँदै उहाँले सम्पदाहरुलाई अपांगमैत्री बनाउन छुट्टै नीति आवश्यक भएको बताउनुभयो ।
उहाँले नेपाल सरकार संस्कृति मन्त्रालय, पुरातत्व विभाग र नगरपालिकाको संयुक्त बैठकले भक्तपुरको राष्ट्रिय कला संग्रहालय भएको भवन मल्लकालीन शैलीमा बनाउने निर्णय गरे पनि युनेस्कोको ‘सहमति चाहिने’ भन्दै हालसम्म त्यसको पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेको जानकारी दिनुभयो । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधाना·ले विश्व सम्पदा सूचीमा सूचितकृत सम्पदाहरुको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले गठित समन्वय कार्य समितिको गठन भएको बताउनुभयो ।
चुना सुर्की र सिमेन्टबाट बनेका संरचनाहरु भन्दा माटो जोडाइँका संरचनाहरु तुलनात्मक रुपमा बलियो रहेको बताउँदै उहाँले सम्पदा संरक्षण र पुनःनिर्माण कार्य प्राप्त प्रमाणको आधारमा मौलिक शैलीमा अगाडि बढाउन विभाग क्रियाशील रहेको बताउनुभयो । भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पुजारी मठको संरक्षण र पुनःनिर्माण कार्य मौलिक स्वरुपअनुरुप माटो जोडाइबाट हुनुपर्ने, दरबार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालयमा राखिएको टेको व्यवस्थापन गर्नुपर्ने र भनपा ९ ब्रम्हायणी मन्दिर जीर्ण अवस्थामा रहेकोले पुनःनिर्माण कार्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा सम्पदा शाखाका शाखा प्रमुख रामगोविन्द श्रेष्ठले भक्तपुरको सम्पदाहरुको पुनःनिर्माण र संरक्षणको अवस्थाबारे प्रस्तुतीकरण देखाउनुभएको थियो । बैठकमा समन्वय कार्य समितिका सदस्यहरु ललितपुर महानपा सम्पदा शाखा, चाँगुनारायण नपा, पशुपति क्षेत्र विकास कोष, हनुमानढोका दरबार हेरचाह अड्डा, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय ललितपुर तथा स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुर, राष्ट्रिय कला संग्रहालय भक्तपुर, बौद्धनाथ क्षेत्र विकास समिति, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति, युनेस्कोको काठमाडौं कार्यालय र पुरातत्व विभागका प्रतिनिधिहरुले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाकहरुको जीर्णोद्धारका विषयहरुमा आफ्नो धारणा राख्नुभएको थियो ।
