भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

धारापानीवासी अझै पानीघट्टकै भरमा

धारापानीवासी अझै पानीघट्टकै भरमा

मुख्य बुँदा 
धारापानी गाउँमा अझै पानीघट्टकै भर

विद्युत् पुगे पनि सेवा सञ्चालनमा आएन

पिसानीबापत पिठो दिने परम्परा कायम

गाउँका अधिकांश युवा रोजगारीका लागि भारतमा

दैनिक करिब १५ किलो मात्र अन्न पिस्न सकिने

कञ्चनपुर, २४ बैशाख । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि कुटानीपिसानीका लागि परम्परागत पानीघट्टमै निर्भर छन् । गाउँमा अन्न पिस्ने एकमात्र माध्यम यही घट्ट बनेको छ ।

यस वर्ष गाउँसम्म विद्युत्का तार विस्तार गरिए पनि सेवा सञ्चालनमा नआएको स्थानीय बताउँछन् । त्यसैले दैनिक आवश्यक पिठो जुटाउन गाउँलेहरू अहिले पनि पानीघट्टमै पुग्न बाध्य छन् । पिसानी गरेबापत सेवाग्राहीले केही पिठो घट्ट सञ्चालकलाई दिने चलन छ । यही पिठोले सञ्चालक परिवारको खाद्यान्न आवश्यकतामा टेवा पुर्‍याउँदै आएको छ ।

पचास वर्षीय साइमले धामीको ११ सदस्यीय परिवार यही घट्ट सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएको छ । कुलो मर्मतदेखि घट्ट व्यवस्थापनसम्मका सबै काम धामी परिवारले गर्दै आएको छ । धामीका अनुसार घट्ट सञ्चालनबाट प्राप्त हुने पिठोले करिब चार महिना खान पुग्छ भने बाँकी समय पाखो जमिनको उत्पादनले धान्ने गरेको छ ।

एक दशकअघि दार्चुलाको धुलीगडाबाट पहिरोका कारण विस्थापित भएर आएको धामी परिवार अहिले धारापानी खोलानजिकै जग्गा खरिद गरी बस्दै आएको छ । परिवारले सानो किराना तथा चिया पसल पनि सञ्चालन गरेको छ ।

“पहिले धारापानी घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल धेरै थियो, आम्दानी पनि राम्रो हुन्थ्यो,” धामीले भने, “सडकको असुविधाका कारण अहिले पर्यटक कम आउँछन्, त्यसैले आम्दानी पनि घटेको छ ।” स्थानीय जयलाल धामीका अनुसार धारापानी खोलाबाट ल्याइएको कुलोमा पानी कम हुँदा घट्ट सुस्त गतिमा चल्ने गरेको छ । त्यसका कारण दैनिक करिब १५ किलो मात्र अन्न पिस्न सकिन्छ ।

उनले गाउँमा गहुँ, मकैलगायत अन्न पिस्न यही घट्ट एकमात्र भरपर्दो साधन भएको बताए । मिलसम्म पुग्न झण्डै तीन किलोमिटर जंगल पार गर्नुपर्ने र सडक पनि सहज नभएकाले अधिकांश गाउँले पानीघट्टमै निर्भर छन् । गाउँका अधिकांश युवा रोजगारीका लागि भारत गएकाले गाउँमा वृद्धवृद्धा मात्रै बस्ने गरेका छन् । त्यसैले परम्परागत घट्ट अझै गाउँको मुख्य आधार बनेको स्थानीयको भनाइ छ ।

कसानी, बेलडाँगा, धारापानी, बर्रेगडा, कार्कीफाँटा र बागमारे क्षेत्रका बासिन्दा पालैपालो यहाँ पुगेर पिठो पिस्ने गर्छन् । पिसानीबापत आधा किलोदेखि एक किलोसम्म पिठो दिने चलन रहेको छ । चारैतिर जंगल र नदीले घेरिएको धारापानी क्षेत्रमा हाल १४ परिवारको बसोबास रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.