भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

धारापानीवासी अझै पानीघट्टकै भरमा

धारापानीवासी अझै पानीघट्टकै भरमा

मुख्य बुँदा 
धारापानी गाउँमा अझै पानीघट्टकै भर

विद्युत् पुगे पनि सेवा सञ्चालनमा आएन

पिसानीबापत पिठो दिने परम्परा कायम

गाउँका अधिकांश युवा रोजगारीका लागि भारतमा

दैनिक करिब १५ किलो मात्र अन्न पिस्न सकिने

कञ्चनपुर, २४ बैशाख । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि कुटानीपिसानीका लागि परम्परागत पानीघट्टमै निर्भर छन् । गाउँमा अन्न पिस्ने एकमात्र माध्यम यही घट्ट बनेको छ ।

यस वर्ष गाउँसम्म विद्युत्का तार विस्तार गरिए पनि सेवा सञ्चालनमा नआएको स्थानीय बताउँछन् । त्यसैले दैनिक आवश्यक पिठो जुटाउन गाउँलेहरू अहिले पनि पानीघट्टमै पुग्न बाध्य छन् । पिसानी गरेबापत सेवाग्राहीले केही पिठो घट्ट सञ्चालकलाई दिने चलन छ । यही पिठोले सञ्चालक परिवारको खाद्यान्न आवश्यकतामा टेवा पुर्‍याउँदै आएको छ ।

पचास वर्षीय साइमले धामीको ११ सदस्यीय परिवार यही घट्ट सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएको छ । कुलो मर्मतदेखि घट्ट व्यवस्थापनसम्मका सबै काम धामी परिवारले गर्दै आएको छ । धामीका अनुसार घट्ट सञ्चालनबाट प्राप्त हुने पिठोले करिब चार महिना खान पुग्छ भने बाँकी समय पाखो जमिनको उत्पादनले धान्ने गरेको छ ।

एक दशकअघि दार्चुलाको धुलीगडाबाट पहिरोका कारण विस्थापित भएर आएको धामी परिवार अहिले धारापानी खोलानजिकै जग्गा खरिद गरी बस्दै आएको छ । परिवारले सानो किराना तथा चिया पसल पनि सञ्चालन गरेको छ ।

“पहिले धारापानी घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल धेरै थियो, आम्दानी पनि राम्रो हुन्थ्यो,” धामीले भने, “सडकको असुविधाका कारण अहिले पर्यटक कम आउँछन्, त्यसैले आम्दानी पनि घटेको छ ।” स्थानीय जयलाल धामीका अनुसार धारापानी खोलाबाट ल्याइएको कुलोमा पानी कम हुँदा घट्ट सुस्त गतिमा चल्ने गरेको छ । त्यसका कारण दैनिक करिब १५ किलो मात्र अन्न पिस्न सकिन्छ ।

उनले गाउँमा गहुँ, मकैलगायत अन्न पिस्न यही घट्ट एकमात्र भरपर्दो साधन भएको बताए । मिलसम्म पुग्न झण्डै तीन किलोमिटर जंगल पार गर्नुपर्ने र सडक पनि सहज नभएकाले अधिकांश गाउँले पानीघट्टमै निर्भर छन् । गाउँका अधिकांश युवा रोजगारीका लागि भारत गएकाले गाउँमा वृद्धवृद्धा मात्रै बस्ने गरेका छन् । त्यसैले परम्परागत घट्ट अझै गाउँको मुख्य आधार बनेको स्थानीयको भनाइ छ ।

कसानी, बेलडाँगा, धारापानी, बर्रेगडा, कार्कीफाँटा र बागमारे क्षेत्रका बासिन्दा पालैपालो यहाँ पुगेर पिठो पिस्ने गर्छन् । पिसानीबापत आधा किलोदेखि एक किलोसम्म पिठो दिने चलन रहेको छ । चारैतिर जंगल र नदीले घेरिएको धारापानी क्षेत्रमा हाल १४ परिवारको बसोबास रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.