पश्चिम नेपालमा भारीदेखि धेरै भारी वर्षा, बाढी–पहिरोको जोखिम ।
पाल्पाको अर्चलेमा २०८ मिलिमिटरभन्दा बढी वर्षा मापन ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम बढी प्रभावित ।
पश्चिमी क्षेत्रमा सुन्तला र रातो रङको चेतावनी जारी ।
सोमबारदेखि देशभर मौसममा क्रमिक सुधार आउने सम्भावना ।
काठमाडौँ, १० असाेज । नेपालको पश्चिमी भूभागमा भारीदेखि धेरै भारी वर्षा भइरहेकाले बाढी र पहिरोको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पश्चिमका विभिन्न क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरैजसो स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । पाल्पाको अर्चलेमा सबैभन्दा धेरै २०८ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ ।
महाशाखाका अनुसार १५० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ । कोशी प्रदेशको सोलुखुम्बु आसपास तथा बागमती प्रदेशका काभ्रे, सिन्धुपाल्चोक र रसुवा आसपासमा पनि भारी वर्षा भएको छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा भएको जनाइएको छ ।
नेपालमा भारतको मध्य प्रदेश र उत्तर प्रदेश आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविद्ले बताएका छन् । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा उक्त प्रणालीमार्फत पश्चिमी क्षेत्रमा केन्द्रित हुँदा पश्चिम नेपालमा बढी वर्षा भएको बताइएको छ ।
शनिबार दिउँसो र राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबारसम्म पनि यी प्रदेशका केही क्षेत्रमा वर्षा कायम रहने पूर्वानुमान छ ।
पूर्वी नेपालमा भने मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ । कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा अहिले पानी पर्ने क्रम कम भएको तथा घाम र बादल लाग्ने अवस्था रहेको जनाइएको छ । पश्चिमी क्षेत्रमा लगातार वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले जोखिमअनुसार सुन्तला र रातो रङको चेतावनी जारी गरेको छ । रातो चेतावनी दिइएका क्षेत्रमा बाढी र पहिरोको जोखिम अत्यधिक हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाका अनुसार सोमबारदेखि देशभरको मौसममा क्रमिक सुधार आउने सम्भावना छ । त्यसपछि पहाडी भूभागका थोरै स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा हुने र अन्य क्षेत्रमा मौसम सामान्य रहने अनुमान गरिएको छ ।
लगातारको वर्षाका कारण पहिरो जाने, डुबान तथा कटान हुने सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रका नागरिक तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
