काठमाडौँ, १० असाेज । लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका ११ वटा प्रमुख राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । सडक विभागका अनुसार असोज ८ गतेदेखि परेको वर्षाका कारण विभिन्न स्थानमा यातायात प्रभावित भएको हो ।
पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जवाङखोला र फिस्लिङलगायत क्षेत्रमा सडक अवरुद्ध हुँदा काठमाडौँ आउने–जाने सवारीसाधन प्रभावित भएका छन् । जोखिमयुक्त स्थानमा रातिको समयमा तथा आवश्यकताअनुसार दिउँसो पनि यातायात सञ्चालनमा रोक लगाइएको विभागले जनाएको छ ।
बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत क्षेत्रमा सडक अवरुद्ध भएको छ । कान्ति राजमार्गको चपली र तकुर्चेलगायत क्षेत्रमा पनि सडक प्रभावित भएको छ भने मकवानपुरतर्फ पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ ।
सिद्धिचरण राजमार्गको ओखलढुङ्गा–सल्लेरी सडकखण्ड तथा सोलुखोला आसपास सडक भासिँदा यातायात प्रभावित भएको छ । सडक खुलाउन एक्जाभेटर र ह्विल लोडरलगायत उपकरण परिचालन गरिएको विभागले जनाएको छ ।
मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर क्षेत्रमा लेदोसहितको पहिरो खस्ने क्रम जारी छ । कालीगण्डकी करिडोरको जैमिनी नगरपालिका–८ बेलबगरमा ठूलो पहिरो खसेपछि सडक खुलाउने काम भइरहेको छ । बागलुङ–बेनी सडकखण्डको म्याग्दी र हुलाकेलगायत क्षेत्रमा पनि यातायात अवरुद्ध भएको छ ।
यसैगरी तमोर करिडोरको छरुवाखोला, नावाखोला र रानीगाउँ, राप्ती राजमार्गको कपुरकोट–खारखोला तथा कर्णाली राजमार्गका गगनेखोला, नाग्म–जुम्ला, राँका, बाङ्गेसिमल र दहीखोलालगायत क्षेत्रमा सडक अवरुद्ध भएको छ ।
भालुवाङ–चकचके–लिवाङ सडकखण्डका विभिन्न स्थानमा समेत यातायात प्रभावित भएको सडक विभागले जनाएको छ । अवरुद्ध सडकमा पहिरो तथा लेदो हटाउने काम भइरहेको भए पनि लगातारको वर्षाका कारण केही स्थानमा जोखिम कायमै रहेको विभागको भनाइ छ ।
