भर्खरै : Sorry, your browser does not support inline SVG.

आइतबारसम्म पश्चिम नेपालमा वर्षाको जोखिम, सोमबारदेखि मौसम खुल्ने

आइतबारसम्म पश्चिम नेपालमा वर्षाको जोखिम, सोमबारदेखि मौसम खुल्ने

काठमाडौँ, १० असाेज । पूर्वी नेपालमा मौसम क्रमशः सुधार हुँदै गए पनि पश्चिमी क्षेत्रमा भने वर्षाको प्रभाव अझै कायम रहने भएको छ । मौसमविद्का अनुसार आइतबारसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ ।

यी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने भएकाले पहाडी क्षेत्रमा पहिरो तथा तराई र खोँच क्षेत्रमा बाढीको जोखिम रहेको मौसमविद्ले बताएका छन् । मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार भारतको उत्तर प्रदेश तथा आसपासमा रहेको न्यून चापीय प्रणाली विस्तारै नेपालतर्फ सर्दै गएको छ । उक्त प्रणालीको प्रभाव पश्चिमी भूभागमा बढी पर्ने देखिएको उनको भनाइ छ ।

आइतबार दिउँसोसम्म बागमतीको पश्चिमी भूभाग, मधेसको पश्चिमी भूभाग तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । केही स्थानमा भने भारी वर्षा हुनसक्ने मौसमविद्ले बताएका छन् । पूर्वी नेपालमा भने मौसममा क्रमिक सुधार भइरहेको छ । यद्यपि केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

लगातारको वर्षाका कारण कमजोर पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च रहेकाले आइतबारसम्म अनावश्यक यात्रा नगर्न मौसमविद्ले आग्रह गरेका छन् । अत्यावश्यक यात्रा गर्नुपर्ने अवस्था भए सम्बन्धित प्रहरी निकायसँग सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सुझाव दिइएको छ ।

मौसमविद् लामिछानेले किसानलाई समेत मौसम खुलेपछि मात्रै धान काट्ने योजना बनाउन आग्रह गरेका छन् । पछिल्लो वर्षा र आगामी दिनमा हुनसक्ने वर्षाका कारण कमजोर पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च रहेको तथा सडक यातायातमा समेत असर पर्नसक्ने उनले बताएका छन् ।

उनका अनुसार सोमबारदेखि भने देशभरको मौसममा क्रमिक सुधार आउने सम्भावना रहेको छ । मौसममा सुधार आएपछि मात्रै नियमित काम तथा कृषि गतिविधिको योजना बनाउन सुझाव दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.