भर्खरै : Sorry, your browser does not support inline SVG.

ध्रुवे हात्तीको भीषण आतंक: घरमै पसेर आमा–छोराको ज्यान लियो, प्रदर्शनपछि ४ बुँदे सहमति

ध्रुवे हात्तीको भीषण आतंक: घरमै पसेर आमा–छोराको ज्यान लियो, प्रदर्शनपछि ४ बुँदे सहमति

मुख्य बुँदा

ध्रुवे हात्तीको आक्रमणमा भरतपुर–२३ मा आमा–छोराको मृत्यु।

हात्ती धपाउने क्रममा घरमा आगलागी, घरमा क्षति।

आक्रोशित स्थानीयले शव राखेर विरोध प्रदर्शन गरे।

वार्तापछि ध्रुवेलाई नियन्त्रण, राहत र घर पुनर्निर्माणसहित ४ बुँदे सहमति।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना माग।

चितवन, २१ असार । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’को आक्रमणमा भरतपुर महानगरपालिका–२३ जगतपुरमा आमा–छोराको ज्यान गएको छ। घटनापछि आक्रोशित स्थानीयले विरोध प्रदर्शन गरेका छन् भने वार्तापछि चारबुँदे सहमति भएको छ।

शनिबार राति करिब ११ बजे बेलहट्टास्थित पूर्ण बोटेको कच्ची घरमा हात्ती पसेर आक्रमण गर्दा उनकी २५ वर्षीया श्रीमती आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार आमा–छोरा घरभित्र सुतिरहेको बेला हात्तीले घरमा आक्रमण गरेको थियो। परिवार बचाउने प्रयासमा पूर्ण बोटेले आगो बालेर हात्ती धपाउन खोजेका थिए। तर आगो कच्ची घरमा सल्किँदा घरमा आगलागी भएको थियो। स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिए पनि घरमा क्षति पुगेको छ।

घटनापछि आक्रोशित स्थानीयले मृतकको शव चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा प्रवेश गर्ने राप्ती पुलमा राखेर प्रदर्शन गरेका थिए। उनीहरूले ध्रुवे हात्तीलाई तत्काल नियन्त्रणमा नलिएसम्म शव नउठाउने चेतावनी दिएका थिए।

स्थानीयवासीको आन्दोलनपछि चितवन राष्ट्रिय निकुञ्ज, नयाँ गोरखा गण, भरतपुर महानगरपालिका–२३ वडा कार्यालय, मध्यवर्ती उपभोक्ता समितिहरू र इलाका प्रहरी कार्यालय गीतानगरका प्रतिनिधिबीच भएको छलफलपछि चारबुँदे सहमति भएको छ।

सहमतिअनुसार ध्रुवे हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक प्रक्रिया अघि बढाइने, मृतक परिवारलाई तत्काल राहत उपलब्ध गराइने, क्षतिग्रस्त घर पुनर्निर्माण गरिने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक सुरक्षा र व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने निर्णय भएको छ।

वडा अध्यक्ष दीपक दवाडीले ध्रुवे हात्तीले वर्षौंदेखि स्थानीय बस्तीमा आतंक मच्चाउँदै आए पनि निकुञ्ज प्रशासनले समयमै प्रभावकारी कदम नचालेका कारण यस्तो दुःखद घटना भएको आरोप लगाए। स्थानीयले मानव बस्तीमा पटक–पटक हुने वन्यजन्तुको आक्रमण रोक्न दीर्घकालीन समाधानको माग गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.