भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ मा अवस्थित गणेश माध्यामिक बिद्यालय र आशापुरी आधारभूत विद्यालयका चार सय ४० जना विद्यार्थीलाई श्री जगत भैरब प्रतिष्ठानले शैशिक सामग्री वितरण गरेको छ । शुक्रबार नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माकी धर्मपत्नि राधिका शाक्य (शर्मा)ले उक्त शैशिक सामग्री वितरण गर्नुभएको हो ।
शैक्षिक सामग्री हस्तान्तरण गर्दै शाक्यले आफू पनि शिक्षण पेशाबाटै आएकाले विद्यार्थीहरुको उत्थान हुने गतिविधिहरु सारै मन पर्ने बताउँदै समूदायमा आधारित विद्यालयका विद्यार्थी र विद्यालयलाई जनप्रतिनिधिहरुले विशेष चासोका साथ हेर्न आग्रह गर्नुभयो ।
उहाँले नेपालका गरिबीको रेखामुनी रहेका परिवार र विद्यार्थीहरुको आशाको केन्द्र सामुदायिक विद्यालय भएकाले सामुदायिक विद्यालयको गरिमालाई उच्चो बनाउँन सबैले महत्वपूर्ण भूमिका खेल्नुपर्ने तर्क गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा श्री जगत भैरब प्रतिष्ठानका मुख्य संरक्षक किरण थापाले आफ्नो वुबा र हजुर बुबाको नामबाट स्थापना गरिएको प्रतिष्ठानको मुख्य उदेश्य नै सामुदायिक विद्यालय र सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक बृत्तिविकासमा कार्य सम्पादन गर्नु रहेको बताउँनुभयो ।
उहाँले गत वर्ष पनि यसै गरी सामुदायिक विद्यालयमा शैक्षिक साम्रगी वितरण गरेको र यस वर्ष पनि अझ धेरै विद्यार्थीहरुलाई शैक्षिक साम्रगी वितरण गरिएको जानकारी दिनुभयो । प्रदेशसभा सदस्य थापाले श्री जगत भैरब प्रतिष्ठानले सूर्यविनायक नगरपालिका वडा नं ८ का विद्यालयलाई मात्र नभई समग्र भक्तपुर जिल्लाका सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो ।
थापाले आफू विगतमा पाँच वर्ष वडा अध्यक्ष हुँदा पाएको पारिश्रमिकबाट अक्षयकोष स्थापना गरि उक्त अक्षयकोषबाट सामुदायिक विद्यालय र विद्यार्थीलाई शैक्षिक सामग्रीहरु, छात्रबृत्ति लगायतका कार्यहरु प्रतिष्ठानले गरिरहेको जानकारी दिनुभयो ।
गणेश माध्यामिक विद्यालय र आशापुरी आधारभुत बिद्यालयका चार सय ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री अन्तरगत पेन्सील, कपि, किताब, पोशाकलगायतका सामग्रीहरु वितरण गरिएको हो ।
सूर्यविनायक नगरपालिकाको एक शिक्षक एक ल्याप्टप भन्ने नारालाई सार्थकता तुल्याउँदै प्रतिष्ठानले गणेश माध्यामिक विद्यालयलाई गत वर्ष र यस वर्ष पनि ल्याप्टप हस्तान्तरण गरेको छ ।


